२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

स्मार्ट सिटीमा यसरी रूपान्तरित हुँदैछ चन्द्रागिरि

१६ फागुन, काठमाडाैँ । तपाईं चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ भने अब तपाईं स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यति मात्र होइन, तपाईंले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ ।

यसका लागि नगरपालिकाले अहिले धमाधम जीपीएस/जीआईएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार पार्ने काम तीव्र बनाएको छ । यो काम सम्पन्न भइसकेपछि नगरवासीले ‘अनलाइन’ सेवा उपयोग गर्न पाउने जनाइएको छ । नगर प्रमुख घनश्याम गिरीले भने, ‘जीपीएस/जीआईएस प्रणालीमार्फत नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगिसकेको छ । प्रोफाइलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग मिल्नेछ । नगरवासीले घरमा बसेर सबै सेवा पाउने छन् । स्थानीय सरकारले पनि कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने छन् ।’

नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको छ । १८ दिन लगाएर वडा नम्बर १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोन सर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरी लगभग नगरका ३५ हजार घरको ट्रयाकिङ भइसकेको छ ।

ड्रोनबाट लिइएका तस्वीरलाई ‘डिजिटाइज’ गर्ने काम धमाधम भइरहेको छ । ती डिजिटाइज तस्वीरलाई अस्थायी नम्बर दिने काम लगभग सम्पन्न भइसकेको जनाइएको छ ।

अब हरेक घरमा गणक तथा प्राविधिक टीम परिचालन हुनेछन् । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना संकलन गर्नेछन् ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भने, ‘नगरका प्रत्येक घरमा गणक तथा प्राविधिक टोली खटिँदैछन् । ट्याबमार्फत सूचना संकलन हुनेछन् । यस्तो सूचना नगरपालिकाको नेटवर्किङसँग जोडिने छ । गणकका कामका अनुगमन ट्रयाकिङबाटै गर्न सकिनेछ ।’

उनका अनुसार ७५ गणकले नगरपालिकाले तयार पारेका व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली भर्नेछन् । १ महिनाभित्र गणकले काम सकाइसक्नुपर्नेछ ।

व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसांख्यिक, रोजगारी लगायतका प्रश्न नगरवासीलाई सोधिने छन् । यसमा विद्यालय, मठ मन्दिर, सार्वजनिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण संकलन गरिने छ । घर तथा बाटोघाटाका लोकेसन पनि व्यक्तिगत विवरणमा उल्लेख हुने छन् ।

नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली’को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गर्नेछ । सोही घर नम्बरका आधारमा जीपीएस ट्रयाक गरिने योजना नगरपालिकाले बनाएको छ । टोलटोलमा डिजिटल बोर्ड रहने छन् । यही ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिनेछ ।

अनलाइनमार्फत सेवा प्रवाह हुनेछ । यसले नगरपालिकाको सेवा प्रवाहमा समेत चुस्त बनाउने अपेक्षा लिइएको छ । अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त भन्ने जिज्ञासामा सूचना प्रविधि अधिकृत ज्ञवालीले भने, ‘नगरवासीका सबै वितरण डिजिटाइज हुनेछन् । हाम्रा सेवा पनि सोहीअनुरूपको बनाइने छ । यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन् । यसलाई एसेप्ट गरिन्छ । यसैका आधारमा सेवा प्रवाह हुन्छ । कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत गर्ने तयारीमा छौं ।’

नगर प्रमुख गिरीले भने, ‘सम्भवतः आगामी स्थानीय तहको निर्वाचन अगाडि नै जीपीएस/जीआएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार हुन्छ । यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थपनमा कोसेढुंगाको काम गर्नैछ । व्यवस्थित शहर बनाउन मद्दत मिल्ने छ । नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ । नगरवासीले विना झन्झट सेवा सुविधा पाउने छन् । हामी ‘स्मार्टसिटी’ बनाउने काममा लागेका छौं ।’

नगरलाई स्मार्ट सिटीमा रूपान्तरण गर्ने उनको चुनावी घोषणा पत्रमा उल्लेख छ । यसबाट नगरपालिका र नगरवासी दुवैलाई फाइदा पुग्ने जनाइएको छ । नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ । विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ ।

नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा लगायत सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगर प्रमुख गिरीले जानकारी दिए ।

‘नगर प्रोफाइल’ बनाउन नगरपालिकालाई स्वदेशी सूचना विज्ञ संलग्न टीमले सहयोग गरिराखेका छ । सो टीममा डा. केशवकुमार आचार्य, भरतप्रसाद वञ्जाडा र सन्तोष कुँवर लगायत ३० प्राविधिक सहभागी छन् । प्राविधिक कुँवरले भने, ‘यसप्रकारको नगर प्रोफाइल नेपालमा पहिलोपटक बन्दैछ । यसमा नगरपालिकाका लागि आवश्यक सबै किसिमका सूचना, जानकारी तथा तथ्यांक संकलन हुनेछ । नगरपालिकालाई भावी योजना बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउँछ । नगरपालिकाको सेवा अनलाइनमा रूपान्तरण गर्न सहयोग मिल्नेछ ।’

उनका अनुसार ‘नगर प्रोफाइल’ बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ । गणकले ट्याबमार्फत भर्ने प्रश्नावलीको काम सकिएसँगै प्रारम्भिक जानकारी आउने छ । ‘नगरवासीका व्यक्तिगत विवरण र गोपनीयता सुरक्षित कायम राख्ने छौं । नगरवासीका आफ्ना जानकारी मात्र हेर्न सक्ने प्रणालीको विकास गर्ने तयारीमा छौं,’ सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भने ।

काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसंख्या १ लाख ३६ हजार ९२८ छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार १०:२५