२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नागरिक संस्थाहरूको दिगोपनको सूचकमा नेपालको प्रगति (भिडियोसहित)

१३ फागुन, काठमाडाैँ । नागरिक संस्थाहरूको दिगोपन मापन सूचक प्रतिवेदन, २०२० मा दक्षिण तथा दक्षिणपूर्वी एशियाका आठ देशमध्ये नेपालको अवस्था सुधार भई पाँचौँ स्थानमा परेको छ । सूचकको सात पूर्णाङ्कमध्ये सन् २०२० कै ४.३ अङ्क सुधार गरी नेपाल पाँचौँ स्थानमा परेको छ । प्रतिवेदनअनुसार टिमोरलेष्टे र फिलिपिन्स क्रमशः पहिलो र दोस्रोमा परेका छन् भने श्रीलङ्का र थाइल्याण्ड क्रमशः सातौँ र आठौँ स्थानमा छन् ।

गत वर्षमा जस्तै यो वर्ष पनि अमेरिकी संस्थाको परियोजना एफएचआइ ३६० ले नागरिक संस्थाको सन् २०२० को दिगोपन मापन सूचक प्रतिवेदन तयार गरेको हो । यो प्रतिवेदन विश्वका ७२ देशका नागरिक संस्थाहरूको सवल तथा दिगोपनका बारेमा मापन गरी वार्षिक रुपमा प्रकाशित गरिने विश्वव्यापी स्वतन्त्र अध्ययन प्रतिवेदन हो ।

प्रतिवेदनमा कानुनी वातावरण, संस्थागत क्षमता, आर्थिक क्षमता, वकालतको स्तर, सेवाको प्राबधान, पूर्वाधारको अवस्था र सार्वजनिक छविका आधारमा मापन गरेको छ । दक्षिण तथा दक्षिण पूर्वी एशियाका आठ मुलुक (नेपाल, बङ्गलादेश, टिमोरलेष्टे, कम्बोडिया, इण्डोनेशिया, फिलिपिन्स, श्रीलंका र थाइल्याण्ड) लाई समेटेर एशियन संस्करणका रुपमा पनि सार्वजनिक गरिन्छ ।

नेपालका लागि गोगो फाउण्डेशनले नागरिक अभियन्तालगायत विज्ञहरुको संलग्नतामा विभिन्न सातवटा एकआपसमा अन्तरसम्बन्धित सूचकमा आधारित भएर प्रारम्भिक प्रतिवदेन तयार गरिएको फाउण्डेशनका कार्यकारी निर्देशक केदार खड्काले बताउनुभयो । उहाँले नागरिक तथा गैरसरकारी संस्थालाई नियन्त्रण गर्ने शैली र व्यवहारले ती संस्थाहरुको सार्वजनिक छविमा आँच पुग्ने प्रतिवेदनको सार रहेको जनाउनुभयो ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार २०:१९