४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एमसीसी सम्झौता विरुद्ध खोटाङमा युवा तथा विद्यार्थी संगठनको प्रदर्शन

४ फागुन, खोटाङ । एमसीसी सम्झौताविरुद्ध खोटाङमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णयविरुद्ध वाइसिएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु (क्रान्तीकारी) र अनेरास्वबियुले दिक्तेलबजारमा संयुक्त रूपमा विरोध जुलुस निकालेका हुन् ।

‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनता रक्षा गरौं,’ भन्ने नारा लेखिएको कालो व्यानर बोकेर युवा तथा विद्यार्थी संगठनले दिक्तेलको पुरानो बेस क्याम्पबाट किरातचोक (रत्नपार्क)सम्म विरोधप्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिदैन, एमसीसी मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होसियार, देश बेच्न पाइदैन, देशभक्त शक्ती एकजुट होऔं, राष्ट्रिय स्वाधिनता जिन्दावादलगायत नारा लगाएका थिए ।

जुलुस किरातचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई अनेरास्ववियुका केन्द्रीय सचिव शम्भु घिमिरे र वाइसिएल नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मिलनचन्द्र राईले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १८:२१