१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

आज संसदमा एमसीसी टेबुल नहुने, भाेली गठबन्धनकाे निर्णायक बैठक बस्ने

४ फागुन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको छ ।

अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) १६ फागुनभित्र अनुमोदन गरिसक्न अमेरिकाले दबाब दिइरहेका बेला बुधबारको बैठकमा सो प्रस्ताव पेस गर्ने तयारी गरेको थियो ।

तर, एमसीसी सम्झौता अनुमोदन प्रस्ताव राष्ट्रिय सहमतिविना सदन बैठकमा पेस गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रको बैठकले निर्णय गरेपछि गठबन्धनका शीर्ष दुई नेताबीच सो सहमति भएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीचको छलफलमा बुधबारको संसद बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । भोलि दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको निर्णायक बैठक बस्ने सहमति देउवा र प्रचण्डबीच भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १२:४६