२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

डोरीले गाडी तान्दै टेकु पुगेका राष्ट्रिय युवा संघका कार्यकर्ताले आयल निगम घेरे


२८ माघ, काठमाडाैँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पछिल्लो समय सरकारविरुद्ध देशैभर चर्को विरोधको कार्याक्रम जारी राखेको छ । देशैभर जिल्ला शाखाहरुले सरकार विरुद्ध सडक तताएका छन् । स्थानीय निर्वाचनको मितिसहित अन्य मागहरु राखेर सरकारको विरोध शुरु गरेको संघले निर्वाचनको मिति तय गरेपछि स्वागत गरेको थियो । तर पनि आन्दोलन भने निरन्तर जारी राखेको छ ।

शुक्रबार दिउँसो विराेध प्रदर्शनसहित संघले टेकुस्थित नेपाल आयल निगमकाे केन्द्रीय कार्यालय घेराउ गरेकाे हो । प्रदर्शनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल र युथ फोर्स विभाग प्रमुख पुष्पराज श्रेष्ठले सम्बोधन गरेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वले सरकारले आयल निगमको घाटा घटाउने नीति लिएको जिकिर गर्दै दुबै नेताले शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त कामलाई गति दिन नसकेको गुनासो गरेका हुन् ।

त्यस्तै संघका नेताहरूले टेकुस्थित नेपाल आयल निगमकाे केन्द्रीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । विगत केही समयदेखि नेपाल आयल नियमले नेपाली जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहेकोमा राष्ट्रिय यु्वा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको उक्त पत्रमा उल्लेख गरिएको संघका प्रचार विभाग प्रमुख महाराज गुरूङले जानकारी दिए ।

विहीवार(हिजो) युवा संघका महलिा प्रतिनिधिहरुले राजधानीमा प्रदर्शन गरेको छ । सरकारको चर्को आलोचना गर्दै स्वास्थ्य मन्त्री विरोध खतिवडा, भौतिक योजना तथा यातायात मन्त्री रेणु यादव, सभामुख अग्नी सापकोटालगायतको राजिनामा माग गर्दै युवा संघका महिला प्रतिनिधिहरुले पहिलो पटक सडक तताएका थिए । त्यस्तै आज राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय युथ फोर्स विभागले पट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १७:१५