२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

क्यालिब्रेशन फ्लाइटका लागि गौतमबुद्ध विमानस्थल तयार


-लक्ष्मण पौडेल

१८ माघ, वुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि प्राविधिकहरूले अन्तिम प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ र आगामी फागुन ९ गते क्यालिब्रेशन फ्लाइट गर्ने तयारी छ ।

क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो ।

यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ । एरो थाइले क्लालिब्रेशन फ्लाइट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थल विस्तार आयोजनाका अनुसार अहिले क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक पर्ने जनशक्तिलाई अस्ट्रियाका प्राविधिकले प्रशिक्षण दिइरहेका छन् । त्यस्तै क्यालिब्रेशन फ्लाइटकै तयारीका लागि एरो थाइका चारजना प्राविधिक पनि भैरहवामै छन् । विमानस्थलमा आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएको आयोजना प्रमुख प्रवेश घिमिरेले जानकारी दिए । उनका अनुसार क्यालिब्रेशन फ्लाइटकै दिन आयोजना हस्तान्तरणको मितिसमेत तोकिने छ ।

एरो थाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठका अनुसार अहिले क्यालिब्रेशन फ्लाइटका लागि ग्राउन्ड चेक, भिजिविलिटी चेकलगायतको काम भइरहेको छ । मौसम अनुकूल हुनासाथ फागुन ९ गतेअघि नै हवाईजहाजलाई नेपाल ल्याउने उनले बताए । क्यालिब्रेशन फ्लाइट लगत्तै नेपाल एयरलाइन्सको ठूलो विमानबाट विमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन वा न्यूनतम ४२ दिनपछि विमानस्थलमा नियमित उडान गरिने छ ।

विमानस्थल विस्तार परियोजनाका अनुसार परीक्षण उडान जति चाँडो हुन सक्यो त्यति नै चाँडो अव विमानस्थल सञ्चालनमा आउने छ । परीक्षण उडानको काम सकिएपछि मात्र प्राविधिक फर्किने विमानस्थल बिस्तार परियोजनाले जानकारी दिएको छ ।

परियोजना प्रमुख प्रवेश अधिकारीका अनुसार परीक्षण उडानको मिति भने नागरिक उड्डयन प्राधिकरणले तय गनुपर्ने हुन्छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियकरण बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी १) मा सम्झौता भएर निर्माण कार्य २०७१ माघ १ देखि सुरु गरेको थियो ।

आइसिबी–१ अन्तर्गत तीन हजार मिटर धावनमार्ग, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, पाँच सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल बिल्डिङको उपकरणसहितको काम, ट्याक्सी वे लगायतका काम रहेका थिए जुन अहिले सबै निर्माण सम्पन्न भई सकेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो (आइसिबी–१ अन्तर्गत छ अर्ब ८२ करोडको । दोस्रो अन्तर्राष्ट्रिय आइसिबी–२ अन्तर्गत रु ५० करोडको काम र तेस्रो २२ अर्ब ४० करोडको मुआब्जा वितरणको काम सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ ।

यसरी आयोजनाको सबै काम जोड्दा ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलव ४ र एडिबीको ६२ दशमलव ६ प्रतिशत लगानी रहेको छ ।

निर्माण सम्पन्न भई सकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिले १२औं तहको महाप्रबन्धक समेत पाएको छ । महाप्रबन्धकको रूपमा गोविन्द प्रसाद दाहाल अहिले भैरहवा विमानस्थल आइपुगेका छन् । विमानस्थल सञ्चालनको अन्तिम तयारीमा रहेको महाप्रबन्धक दाहालले बताए । थाइल्यान्डबाट एरो थाइका प्राविधिक अध्ययनका लागि आएको र उनीहरूको रिपोर्टपछि करिब एक महिनामा परीक्षण उडान हुन सक्ने दाहालको भनाई छ ।

गौतमबुद्ध विमानस्थलमा हाल ३४ जनाको दरबन्दी छ । अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा बिस्तार भइसकेपछि अव विमानस्थलमा १५१ जना कर्मचारीको दरबन्दी रहेको उनले जानकारी दिए । यसबाहेक सेवा प्रदायकले आपूर्ति गर्ने १०३ जना, प्रहरी १६७ जना, मेट्रोलोजिष्ट १७ देखि २० जना, अध्यागमन, भन्सार, क्वारेनटाइन लगायतका कर्मचारीको आवश्यकता हुन्छ ।

अध्यागमन, भन्सार, क्वारेनटाइन र सुरक्षा बाहेक विमानस्थल सञ्चालनको लागि अहिले करिब २० जना थपिएमा हाललाई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन योग्य हुने दाहालले बताए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार १९:३५