२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

विप्लव कार्यकर्ताले सबइन्जिनियरलाई कार्यालयमै मोसो दले र जुत्ताको माला लगाए

-डिवि खालिङ

१७ माघ, सोलुखुम्बु । शिक्षा विकास समन्वय इकाई सोलुखुम्बुका सबइन्जिनियर पवन कुमार यादवमाथि कालोमोसो र जुत्ताको मालासहित हातपात भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले उनलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।

सबइन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा भ्रष्टचार गरेको आरोप लगाउँदै सोमबार दिउँसो कार्यालयमै पुगेका विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।

दिउँसो करिब १ बजे मास्क लगाएर कार्यालयमा आएका १० जनाजति युवाहरुले नाराबाजी सहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताए । कालोमोसो लगाइदिएपछि क्रान्तिकारीले कार्यालयको मुख्यद्वारमा प्रेस विज्ञप्ति टाँस गरेको छ ।

क्रान्तिकारीका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा शिक्षा समन्वय इकाईका सबइन्जिनियरुहरु पवन कुमार यादव र नविन कुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । आफूहरुले सो रकम विद्यालयलाई फिर्ता गर्न पटक/पटक आग्रह गरेपनि बेवास्ता गरेका कारण सांकेतिक रुपमा कारबाही गरेको विज्ञप्तिमा भनिएको छ । साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही समेत गर्ने समेत चेतावनी दिइएको छ ।

सवइन्जिनियरद्वयले महाकुलुङको कैलाश आधारभूत विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ आधारभूत विद्यालयमा ५० हजार, बाखोर र चेपेल आधारभूत विद्यालयमा ३५/३५ हजार र खिरौले आधारभूत विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टचार गरेको आरोप लगाइएको छ ।

यस अघि पनि विप्लव निकटका कार्यकर्ताले आफूलाई हातपात गरेको पीडित सबइन्जिनियर यादवले बताए । यादवले आफ्नो कुनै कमजोरी नरहेको र कानुनी कारबाहीमा जान आग्रह गरेको भएपनि आफूमाथि भौतिक आक्रमण भएको भन्दै दु:ख व्यक्त गरे । घटनापछि फरार भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार २२:४९