२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

दमक नजिकैको एउटा गाउँ, जहाँ अहिलेसम्म बिजुली पुगेको छैन

१२ माघ, झापा । इलामको माङ्सेबुङ-४ मार्चेबुङ झापाको दमकदेखि सात किलोमिटरको दूरीमा मात्र छ । दमक विकासका सबै पूर्वाधारले सुगम ठाउँ हो । यसकै छत्रछायाँमा रहेको मार्चेबुङको बेहाल छ । दमक-चिसापानी सडकले यो गाउँ छुन्छ । लामो समयसम्म बाटो, पुलविना रतुवा खोला तर्दै दैनिकीका लागि दमक जाने उनीहरूको जीवनमा यो सडक बन्दै गर्दा केही परिवर्तन आएको छ । तैपनि सडक पूणर्रूपमा नबन्दा बर्खामा निकै मुस्किल छ, उनीहरूको यात्रा । दैनिक रोजगारीदेखि उपभोग्य वस्तु र स्वास्थ्य उपचारका लागि दमक नै रोज्नुपर्छ । दमकसँगको सधैँ सम्पर्कमा रहिरहने यो गाउँ बत्तीमुनिको अँध्यारो जस्तै छ ।

नेपालका धेरै दुर्गममा बिजुली पुगिसक्दा पनि सुगम झापाबाट नजिक रहेको मार्चेबुङ बिजुली नपुग्दा अन्धकार छ । सक्नेले सोलार जोडेका छन् । नसक्ने टुकी कै भरमा अँधेरी काट्दै आएका छन् । देशका संघीयता आएपछि स्थानीय क्षेत्रको विकास भइरहेको छ । तर, यहाँका स्थानीयले संघीयताको सुविधा लिन सकेका छैनन् । घर नजिक सरकार आउँदा पनि अन्धकारमा जीवन कटाइरहेका छन् । स्थानीय सरकारले पनि पहल नगरेको भने हैन । बारम्बार घचघच्याइरहँदा पनि गाउँमा बिजुली ल्याउन सकेको छैन । ‘हामी त साह्रै गाह्रो ठाउँमा बसेछौँ । अहिलेसम्म पनि बत्ती नआउने पनि हुन्छ र ? बाटो बर्खा लागेपछि बन्द हुन्छ । बिजुली छैन,’ माङ्सेबुङ-४ का वडाध्यक्ष अमृतबहादुर राईले भने, ‘बिजुलीका लागि हामी स्थानीय सरकारले मात्र सक्दैनौँ । केन्द्र सरकारलाई बारम्बार भनेका छौँ । तर, कसैले सुनेन । हामी अन्धारमै बस्नुपरेको छ ।’

बिजुली नहुँदा उनीहरू सञ्चारको पहुँचबाट पनि टाडा छन् । हिउँदमा हुस्से लाग्दा सोलारले काम गर्दैन । मोबाइल चार्ज पनि हुँदैन । ‘हिउँदमा कुहिरोले घाम देखिँदैन । घाम नलागेपछि सोलारको बेट्री चार्ज हुँदैन । मोबाइल चार्ज गर्न सकिँदैन,’ स्थानीय धनसिंह राई भन्छन्, ‘हामी त सञ्चारको पहुँचमा पनि हुँदैनौँ । चुरे क्षेत्रमा गरिबको बसोबास हुन्छ त्यही भएर पनि राज्यले ध्यान नदिएको होला ।’

सिंगो माङ्सेबुङ-४ मै बिजुली छैन । यहाँ करिब ७०० घर परिवार रहेको गाउँपालिकाले जनाएको छ । सोलार पनि राख्न नसक्ने कतिपय गरिब टुकीकै भरमा रहेको स्थानीय देउकुमार राई बताउँछन् । ‘अहिलेसम्म बिजुली आएको छैन । हुनेले पो सोलार बालेका छन् त ! नहुँनेले मट्टितेल बालेका छन् । मट्टितेलको भाउ पनि छुनै नसक्ने भएको छ,’ उनी भन्छन्, ‘हाम्रो तर्फबाट बोलिदिने कोही नभएर होला । सुगम ठाउँको नजिक भएर पनि अन्धकारमा बस्नुपरेको छ ।’

गाउँमा बिजुलीको पोल आएको वर्षौं भयो । तर, अहिलेसम्म बिजुली आएको छैन । विजुलीको पोल आएपछि स्थानीयलाई केही आस पलाएको थियो । तर, वर्षौँसम्म बिजुली नआएपछि भने निरास छन् । ‘सुरुमा त पोल आउँदा विजुली नै आएको जस्तो लागेको थियो । तर, पोल आएको वर्षौं भयो । बिजुली आउँदैन,’ राई भन्छन्, ‘बिजुलीका पोल लड्न थालिसके । अब त विजुली आउने आस पनि छैन ।’

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ११:१३