मर्स्याङ्दी नदीमा पानीको बहाव घटेसँगै मध्यमर्स्याङदीको उत्पादन घट्यो
१० माघ,लमजुङ । लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । पानीको वहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत उत्पादन हुने केन्द्रबाट हाल औसतमा ३५ देखि ३८ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख पवन बस्नेतले बताए । उनका अनुसार पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत मात्र उत्पादन भएको हो ।
गतबर्ष यस समय औसतमा ३५ देखि ३७ मेगावाटसम्म विद्युत उत्पादन हुने गरेकोमा यसबर्ष भने केही बढी हो । केन्द्रबाट माघ ७ गते शुक्रबार औसत उत्पादन ३५ दशमलव २४ मेगावाट रहेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको मध्यमर्स्याङदी जलविद्युत केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार साँझ र विहानको पीक आवरमा भने पूर्ण क्षमतामा ७० मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । हिउँदमा विहान ६ देखि १० बजे र साँझ ६ बजेदेखि १० बजेको बीचमा पूरा उत्पादन हुने गर्छ । पानी पर्ने र हिउँ पग्लिने समयदेखि विद्युत उत्पादन बढ्ने केन्द्रले जनाएको छ । उक्त परियोजनामा ३५/३५ मेगावाटको २ वटा फ्रान्सिस टर्बाइन छ ।
प्रकाशित मिति : १० माघ २०७८, सोमबार १८:११