२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

खोटाङमा थपिए ३५ संक्रमित, तीन जना संक्रमणमुक्त

९ माघ, खोटाङ । खोटाङमा एकैदिन ३५ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । आइतबार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, तीन संक्रमित कोरोना संक्रमणमुक्त पनि भएका छन् ।

कोभिड–१९ को तेश्रो लहरपछि कोरोना संक्रमण भएर निको हुनेको संख्या चार पुगेको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकलपर्सन भिष्म पाण्डेले बताए ।

चार जना संक्रमणमुक्त हुँदा जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक लाख १२ हजार आठ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६ सय १२ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन् । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा दुई सय ३४ बेड उपलव्ध छ । यस्तै, एक थान भेण्टिलेटर, सात वटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभिड–१९ को प्रथम र दोश्रो लहरमा जिल्लाका तीन हजार ४१ संक्रमितले कोरोना जितेका थिए । यस अवधिमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १६:२२