१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

फागुन २७ मा ओलीले विश्वासको मत लिने, दुई तिहाई अनिश्चित


२० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते संसदमा विश्वासको मत लिने भएका छन । संविधान अनुसार प्रतिनिधिसभामा कुनै एकदलको बहुमत नपुगे नियुक्त भएको तीस दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

संसदभित्र सरकारको पक्षमा अहिले एमाले र माओवादी दुई दलको मात्रै स्पष्ट बहुमत रहेको छ । राष्ट्रपतिले एमाले र माओवादी अध्यक्षको सिफारिशमा बाम गठबन्धनका नेता ओलीलाई गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन ।

एक महिनाको समय चैत ३ गते पुग्ने भएपनि प्रधानमन्त्री ओलीले फागुन २७ मा विश्वासको मत लिने जानकारी दुबै दलको संयुक्त संसदीय दलको बैठकमा जानकारी गराएका थिए ।

दुई तिहाई अनिश्चित
सहज बहुमत रहेपनि दुई तिहाई बहुमतका साथ सरकार सञ्चालन गर्न प्रधानमन्त्री ओलीले गरेको तयारी अझै अनिश्चित बनेको छ । दुई तिहाईका लागि ओलीले संघीय समाजवादी फोरमलाई समेत सरकारमा ल्याउन कसरत गरिरहेका छन ।

फोरमसँगको अधिकांश बिषय मिलेपन हैसियत भन्दा बढी मन्त्रालय खोजेपछि कुरा मिल्न सकेको छैन । जसले गर्दा ओलीले विश्वासको मत लिनेदिनसम्म फोरमसँग सहमति भए ओलीले दुई तिहाई मतको समर्थन पाउने छन भने अन्यथा स्पष्ट बहुमतको सरकारको मात्र नेतृत्व गर्नेछन ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार ०९:३३