२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

स्थानीय तहको निर्वाचनका सम्बन्धमा सत्तारूढ गठबन्धनले कानूनविद्सँग छलफल गर्ने

७ माघ, काठमाडाैँ । सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधानविद् र कानूनविद्सँग छलफल गर्नेभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ गठबन्धन दलको बैठकले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्था बाझिएकाले संविधानविद् र कानूनविदसँग छलफल गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।

“स्थानीय तह निर्वाचनका सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐन बाझिएको रहेछ”, उनले भने, “बाझिएको व्यवस्थाबारे छलफल गर्नका लागि संविधानविद् र कानूनविदसँग परामर्श गर्दछौँ ।” उनले एक÷दुई दिनभित्र संविधानविद् र कानुनविद्सँगको परामर्शमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा बाझिएको व्यवस्थालाई समाधान गर्ने बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार २२:२१