२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

रैथाने र राष्ट्रिय खाद्य बैंक विच सम्झौतापत्रमा हस्ताक्षर

७ माघ, काठमाडाैँ । रैथाने र राष्ट्रिय खाद्य बैंकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खाद्य क्षेत्रमा भएको विद्यमान आवश्यकतालाई परिपूर्ति गर्न र भावी पुस्ताहरुको लागि खाद्यान्न सम्प्रभुता संरक्षण गर्न “पोषिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ कृषिलाई औद्योगिकीकरण गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सम्झाैता भएको जनाइएको छ ।

दुइ संस्थाको बीचमा नेपालको मौलिक कृषि बाली, ज्ञान र सिपहरुको संरक्षण, प्रर्बद्धन र बजारीकरण गर्ने र स्वदेशमै रोजगारी सृजनाका लागि कृषि र पर्यटनमा एकीकृत अवधारणा सम्बन्धी योजना कार्यन्वयनमा सहकार्यका प्रारम्भिक सम्झौता भएको हो ।

नेपालका ६५ प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेशामा आधारित छन् । कुल राष्ट्रिय उत्पादनको करिब ३२ प्रतिशत हिस्सा, कृषिले ओगटेको छ । उत्पादन बृद्धि गर्ने हेतुले आयातित बिउ बिजन, रासायनिक मल तथा बिषादीहरुको अत्याधिक प्रयोगका कारण कृषि बालीमा रोग ब्याधी र किराको प्रकोप बढेको,माटोको उर्वर शक्तिमा ह्रास आएको, मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ ।

साथै रैथाने बिउ, बिजन तथा परम्परागत बाली र खेती प्रणाली लोप हुँदै गईरहेका छन् भने हाम्रा मौलिक ज्ञान र सिप समेत लोपोन्मुख अवस्थामा छन् । किसानले उचित मूल्य र उपभोक्ताहरुले गुणस्तरीय वस्तुहरु उपभोग गर्न नपाउने अवस्था सृजना भएको छ । कृषि क्षेत्रमा व्यवशायीकरण नहुँदा देशमा दिगो रोजगार सृजना हुन सकेको छैन ।

उर्वर कृषियोग्य जमिनहरु बाँझै रहेका छन् । रोजगारीको खोजीमा देशका यूवा शक्ति विदेश पलायन भइरहेका छन । देशले बार्षिक अर्बौ रुपैया बराबरको तरकारी,फलफुल लगाएतका खाद्यान्न बस्तुहरु आयात गर्ने गर्दछ । देशको पुूँजी र श्रम पलायनमा न्युनिकरण गर्दै आर्थिक बिकासको मेरुदण्डको रुपमा रहेको कृषि र पर्यटन क्षेत्रमा एकीकृत बिकासको मोडल तयार गरी कार्यन्वयन गर्न सम्झौता गरिएको रैथानेका अध्यक्ष तिलक ढकालले बताए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ०७:३९