२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

कांग्रेसले ऋण तिरिदिन्छु भनेर पार्टी प्रवेश गराएका हिराबहादुर दर्लामी एमालेमै फर्किए

५ माघ, गुल्मी । नेपाली कांग्रेसले ऋण तिरिदिने भनेर पार्टी प्रवेश गराएका एक जना पुराना वामपन्थी नेता एमालेमा फर्किएका छन । गुल्मीको एमालेमा कम्युनिस्ट अगुवाकै रूपमा चिनिएका हिराबहादुर दर्लामी कांग्रेसको ठगीमा परेको भन्दै नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन ।

हिराबहादुरले बुधबार एक विज्ञप्ति समेत प्रकाशित गरि नेपाली कांग्रेसले ऋण तिरिदिने लोभ देखाएर ठगेको आरोप लगाएका छन । उनले कांग्रेसको भ्रममा नपरी एमालेको राजनीतिमा समाहित अन्यलाइ पनि अपिल गरेका छन ।

एमाले नेताहरूको बीचमा नेता हिराबहादुर दर्लामी ।

यस्तो छ हिराबहादुरको विज्ञप्ति

आदरणीय दाजुभाइ दिदीबहिनीहरु
हार्दिक अभिवादन !
गुल्मी जिल्ला इस्मा गाउँपालिका वार्ड नं ४ निबासी म हिराबहादुर दर्लामी २०३५/३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा क्रियाशील रही कठोर राजनीतिक संघर्ष गर्दै आएको छु । मैले नेकपा एमालेको जिल्ला कमिटीमा रही नेतृत्व गरिआएको हुँ । सबै प्रकारका विभेदको अन्त्य, जनताको सुख रसमृद्धि नै मेरो एकमात्र अभिष्ट हो । मेरो राजनीतिक जीवनमा कम्युनिष्ट आन्दोलनमा रहँदा पञ्चायती शासकका अलावा काँग्रेसी ज्यादतीबाट प्रताडित भएको तीतो अनुभव छ ।

यसैक्रममा मेरो स्थायी बसोबास रहेको दोहली हुल गाउँमा जाने मोटरबाटो निर्माण गर्दा लागेको ऋण काँग्रेस प्रवेश गरेमा तिरिदिने आश्वासन दिई मलाई पार्टी प्रवेश गर्न बाध्य पारेको स्पष्ट गर्न चाहन्छु । तर निजहरुको आवश्वासन केवल जनतालाई भ्रम पार्ने झट्टा सावित भएको हुनाले म आजैका मितिदेखि पुनः जनताको प्यारो पार्टी नेकपा एमालेमा जीवनपर्यन्त क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

अन्त्यमा सबै दाजुभाइ दिदीबहिनीहरुमा नेपाली काँग्रेसका भ्रममा नफस्न र नेकपा एमालेमा संगठित भई सामाजिक आर्थिक रुपान्तरणमा क्रियाशील रहन हार्दिक आव्हान गर्दछु । ५ माघ, २०७८

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १६:४७