२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

गृहमन्त्रीको ठाडो आदेश भन्दै प्रहरीले एमाले निकटका कर्मचारीलाई कार्यालयबाट निकाल्यो

२८ पुस, काठमाडाैँ । नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीलाई प्रहरीले संगठनको कार्यालय बबरमहलमा प्रवेश गर्न रोक लगाएको छ । नेकपा एस निकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्यहरु एमाले निकट संगठनमै फर्किएपछि बुधबार साँझ बबरमहलस्थीत कार्यालयमा पुगेका थिए । तर कार्यालय प्रवेशमा प्रहरीले रोक लगाएपछि उनीहरु आक्रोशित भएका छन् ।

यसअघि पार्टी फुटपछि बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेपछि प्रहरीले ताला लगाएको थियो । तर बुधबार कर्मचारी संगठन पुनः एक भएको भन्दै उनीहरु संगठन रहेको भवनमा पुगेका थिए ।

संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले आफुहरु एक भएको जानकारी प्रशासन कार्यालय र श्रम कार्यालयमा जानकारी गराएपछि कार्यालय आएको र कार्यालय प्रवेश गर्ने बितिकै आफुलाई माथिको आदेश भन्दै निकालिएको जानकारी दिनुभयो ।

त्यस्तै यसअघि नेकपा एस निकट संगठन अध्यक्ष समेत रहेका रेवन्त गौतमले आफुहरुबीचको विवाद अन्त्य भएको र दुवैपक्षबीच सहमति भएपनि कार्यालय आएका बताउनुभयो । उहाले गृह मन्त्रालयको निर्देशनबाट आफुहरुलाई भवन भित्र छिर्न नदिएको र धरपकट गरिएको आरोप लगाउनुभयो । उहाले संगठनमा अव कुनै विवाद नरहेको जिकिर गर्नुभयो ।

विभाजित भएको संगठनका अध्यक्ष गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायतलगायत अधिकांश पदाधिकारीसहित नेपाल निजामति कर्मचारी संगठनमा फर्किएका थिए । संगठनले माघ १४ र १५ मा हुने महाधिवेशनको मिति समय तय गरिसकेको छ ।

 

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार १८:४९