२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

काेराेना बढेपछि पुम्दीकोटमा लगाउने भनिएको महायज्ञ स्थगित

२८ पुस, पोखरा । पछिल्लो समय धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित हुँदै गरेको पोखराको पुम्दीकोटमा विशाल शिवमूर्ति निर्माणको चरण चलिरहेको छ ।

४० करोड लागत स्टिमेट गरेर काम थालिएको यहाँ पैसा अभाव भएपछि ८ माघदेखि महायज्ञ लगाउने तयारी थियो । १८ माघसम्म हुने भनिएको महायज्ञ तत्कालका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनको आग्रहमा महायज्ञ रोकिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । ‘मूर्तिभन्दा ठूलो कुरा मानवको स्वास्थ्य हो । भेला हुने कार्यक्रम नगर्न सरकारले भनेको छ,’ उनले भने, ‘अहिलेलाई महायज्ञ नहुने भयो । अर्को कार्यक्रम सहज भएपछि घोषणा गर्छौं ।’

अर्काे सूचना जारी नहुन्जेनसम्मको लागि उक्त महायज्ञ स्थगित भएको उनले बताए । कोरोना संक्रमण दर घटेर केही सहज हुन साथ उक्त महायज्ञ हुने समितिले जनाएको छ ।

मूर्ति र अन्य पूर्वाधार बनाउन हालसम्म २० करोडभन्दा बढी खर्च भइसकेको छ । पौने चार करोड हाराहारीमा ऋण रहेको निर्माण समितिले जनाएको छ । समितिले सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको छ भने अरु रकम स्थानीयसँग सापट मागेर चलाएको बताएको छ ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार ११:२३