२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एमालेको पर्यटन संगठन एकतावद्ध, पूर्ण कुवँरको संयोजकत्वमा अधिवेशन आयोजक समिति

२३ पुस, काठमाडौँ । नेकपा एमाले निकटको पर्यटन संगठन एकतावद्ध भएको छ । एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र राष्ट्रिय पर्यटन व्यवसायी संगठन नेपालको संयुक्त सचिवालय बैठकले दुबै संगठन एक हुने निर्णय गरेको हो ।

बैठकले नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तेस्रो महाधिवेशन सम्पन्न गर्नका लागि पूर्ण कुँवरको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । समितिमा दुबै तर्फका केन्द्रीय कमिटीका व्यक्तिहरू सदस्य रहनेछन ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष घनेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको संयुक्त बैठकमा प्रमुख अतिथि नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्ष एल.बी. साँवा लिम्वु, विशेष अतिथि महासंघका उपाध्यक्ष एवं संगठनका इन्चार्ज एवं सिएन पाण्डे संगठनका पूर्व अध्यक्ष एवं पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र अतिथि महासंघका महासचिव भगिरथ सापकोटा लगायतले संगठनको एकता कायम राख्ने विषयमा मन्तव्य दिएका थिए ।

बैठकले एकता प्रक्रियाको विषय भएकाले विवाद पनि उत्पन्न हुन सक्ने भएकाले त्यसको समन्वयका लागि एउटा समिति पनि गठन गरेको छ । जसमा सिएन पाण्डे, चन्द्र रिजाल, घनेन्द्र श्रेष्ठ, सीताराम सापकोटा, पूर्णबहादुर कुँवर, राजेन्द्रप्रसाद सापकोटा लगायत रहेका छन ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि आर्थिक व्यवस्थापन समिति पनि गठन गरेको छ । जसको संयोजकमा कलाधर बराल रहेका छन भने सहसंयोजकमा लीलाबहादुर लामा र सदस्यहरूमा यमबहादुर खड्का, आङग पेम्वा शेर्पा, हरि कुमार श्रेष्ठ रहेका छन ।

प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार ०९:१०