२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ : अध्यक्ष लिङ्देन

२० पुस, जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने बताउनुभएको छ । राप्रापा प्रदेश नं २ समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय आमसभामा उहाँले भन्नुभयो, “हामीले पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ ।

” सरकारले अहिलेसम्म राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन कन्जुस्याइँ गरिरहेको छ भन्दै उहाँले यदि सार्वजनिक बिदाको घोषणा गरिएन भने आफ्नो पार्टी त्यही दिनदेखि देशव्यापी आन्दोलनमा जाने बताउनुभयो । “पृथ्वीजयन्ती कुनै पार्टी र विचार विशेषको विषय होइन”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “यो वाद र विचारभन्दा माथिको कुरा हो, त्यसैले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन कुनै कन्जुस्याइँ गर्नुहुँदैन ।” पार्टीका कार्यक्रममा माहात्मा गान्धी, माओ र लेनिनको तस्बिरमा माल्यापर्ण गर्ने र उनीहरुलाई आर्दश पुरुष मान्ने तर राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आर्दश नमान्ने परम्परा हामीले देख्दैछौँ भन्दै उहाँले भन्नुभयो, “त्यसबाट पनि ठूला पार्टी राष्ट्रिय एकता र राष्ट्रियताप्रति कति इमान्दार छन् भन्ने अनुमान लगाउन सक्छौँ ।

” राप्रपा राष्ट्रिय एकता, हिन्दू राष्ट्र र राजसंस्था कायम गराउने एजेण्डासहित अघि बढेको उहाँको कथन थियो । अध्यक्ष लिङ्देनले राजा र राजसंस्था राष्ट्रिय अस्तित्वको रक्षक भएकाले राजसंस्था पुनःस्थापनाका लागि आफ्नो पार्टी अघि बढिरहेको बताउनुभयो । नेपाल पनि सिक्किमीकरणमा पर्नेसक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । त्यसैको रक्षाका लागि जनता जागरुक हुनुपर्ने उहाँको भनाइ थियो । धर्म निरपेक्षताका नाममा जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै उहाँले यस्तै अवस्था रहिरहे भविष्यमा धार्मिक द्वन्द्व हुने खतरा रहेकाले सचेत हुनुपर्ने बताउनुभयो ।

मुलुकमा रहेका ठूलाठूला उद्योगधन्दा कलकारखाना बन्द भएर देशमा बेरोजगारी बढेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले मुलुक यतिबेला बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै बनेको टिप्पणी गर्नुभयो । सभामा राप्रापाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दू राष्ट्र कायम गर्न र राजसंस्था फर्काउन सङ्घर्ष एकमात्र विकल्प रहेकाले त्यसका लागि तयार रहन अपिल गर्नुभयो । उहाँले हिमाल, पहाड र तराईलाई जोड्ने एकमात्र संस्था राजसंस्था र हिन्दू राष्ट्र भएकाले त्यसलाई फर्काउन आफ्नो पार्टी ठोस एजेण्डाका साथ अघि बढ्ेको बताउँदै सम्पूर्ण जनतालाई एकताको सूत्रमा बाँधेर अघि बढ्ने एकमात्र पार्टी आफ्नो पार्टी रहेको दाबी गर्नुभयो ।

राप्रापा प्रदेश नं २ का अध्यक्ष भरत गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राप्रापाका महामन्त्री भुवन पाठक, नेता कृष्णप्रताप मल्ल, केन्द्रीय सदस्य डा राजेश गिरी, मोहन यादव, महामाया सिंहलगायतले बोल्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई अध्यक्ष लिङ्देनले फूलमाला लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १९:५१