२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रहरीले चलाएको गोली लागेर सिके राउत नेतृत्वको पार्टीका पाँच जना घाइते

१८ पुस, जनकपुरधाम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको पोर्ताहामा अवरुद्ध सडक खुलाउने क्रममा प्रहरीले रबरको गोली चलाएको छ । रबरको गोली लागेर सिके राउत नेतृत्वको जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् ।

पूर्व घोषित कार्यक्रम अनुसार जनमत पार्टीका करिब दुई दर्जन कार्यकर्ता दिउँसो १२ बजेतिर पोर्ताहास्थित पूर्व–राजमार्ग अवरुद्ध गर्न पुगेका थिए । घटनास्थलबाट केही किलोमिटरको दुरीमा रहेको विरेन्द्र बजारबाट खटेको टोलीले उनीहरुलाई रोकेको थियो । आन्दोलनकारी पछि नहटेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

सडक खुलाउन प्रहरीले १६ राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरी ११ राउण्ड रबरको गोली चलाएको थियो । त्यस क्रममा जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएको धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

जनमत पार्टीका विद्यार्थीका धनुषाका अध्यक्ष विजय कुमार यादव, दलित संगठन धनुषाका उपाध्यक्ष रामदयाल मुखिया, युवा संगठनका जिल्ला उपाध्यक्ष नथुनी यादव, जिल्ला सचिव वैजनाथ यादव र जिल्ला सदस्य संजय साह घाइते भएका छन् । घाइतेहरुको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । उनीहरुको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

यता, जनमत पार्टीका अध्यक्ष सिके राउत घटना पश्चात घाइतेहरुको अवस्थाबारे जानकारी लिन प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए । घटनाको निन्दा गर्दै अध्यक्ष राउतले किसानको हक अधिकारको विषयमा उठेको अवाज दवाउन प्रहरीले आन्दोलनकारी माथि दमन गरेको आरोप लगाए ।
विगत १० दिनदेखि किसानका विभिन्न मागलाई लिएर आन्दोलन गरिरहेपनि राज्यले कुनै सुनवाइ नगरेको भन्दै राउतले भने,‘नस्लीय प्रहरीले हाम्रा कार्यकर्तामाथि दम्भ देखाएको छ । रबरको मात्रै नभई प्रहरीले असली गोली पनि चलाएको हामीले पाएका छौं ।’ गोली चलाएको घटनाको छानबिन हुनुपर्ने उनको भनाइ छ । आफूहरुको आन्दोलन सोमबारदेखि थप कडा हुने उनले चेतावनी दिए ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १९:३१