२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

टुहुरा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो कपडा

१८ पुस, रुकुम(पूर्व) । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले टुहुरा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने भएको छ । जाडो अत्याधिक बढ्दै गएपछि स्थानीय प्रशासनले उनीहरुलाई न्यानो कपडाको व्यवस्था गर्न लागेको हो ।

चिसोबाट बचाउनका लागि हिमपातजन्य विपद् प्रतिकार्य योजना, २०७८ बमोजिम ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १८ वर्षभन्दा मुनिका बुबा आमा नभएका बालबालिका र किशोर किशोरीलाई न्यानो कपडा वितरण गर्न लागिएको हो । न्यानो लुगा वितरण गर्न हिमपात हुने बस्तीलाई छनौट गरिएको छ । न्यानो बनाइ राख्न ठाउँठाउँमा आगो बाल्ने व्यवस्थासमेत गर्ने तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

समितिको आज बसेको बैठकले आगो बाल्न दाउरा खरिद गर्ने निर्णयसमेत गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको तक, कोल र नयाँ बजारमा आगो बाल्न दाउराको व्यवस्था गरिने भएको छ । आगो बाल्न भूमे गाउँपालिकाको लुकुम, काँक्री, खाबाङ बगर, महत र गैरिगाउँ तथा सिस्ने गाउँपालिकाको कमलदह, रुकुमपूर्व अस्पताल क्षेत्र, छिप्री दह र खोपीचारमा दाउराको व्यवस्था गरिने प्रजिअ बाँस्कोटाले बताउनुभयो ।

दाउरा र न्यायो कपडाका लागि पुथा उत्तरगङ्गा गाउँपालिकाको जुनाङ, पुसर, मैकोट, दुले, कायमडाँडा, तिज्याङ, पेल्मा, झारलुङ, यामखार, हिम, गुइबाङ, रन्मा, घुन्मा, काजरजङ, हुकाम, थाकुर, मयाङ, घुम्लिबाङ, दमचन, तुपा, खोरे, ताँतु, क्यूबाङ र गोठबाङ, सिस्ने गाउँपालिकाको ठूलो सिस्ने, पाखापानी, लाम्पाखा, ओख्रेना, भट्टेचौर, मर्पे, रङ्गेनी, लैपा, धङगु र स्याम्जे, भूमे गाउँपालिकाको पञ्चासे, स्याला, रिकुम, लाटापानी, वनबालारिग, च्यारनेटा, चिप्लेगैरा, गाबाङ, तल्लो गाबाङ, रिककाँडा, घङघारी, मछैना, रिसाल चौर, मैबाङ, विस्कुम र थुम्का छहरालाई छनौट गरिएको छ । न्यानो कपडा खरिद गरी स्थानीय विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित वडाध्यक्ष र क्रियाशील राजनीतिक दलको रोहबरमा वितरण गर्न प्रशासनको तयारी छ ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १८:३०