१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मेडिसिटी अस्पतालको गम्भीर लापरबाहीः जिउँदो मान्छेलाई मृत घोषित गरी घाटमा पठाउने निर्णय

१८ साउन, काठमाडाैँ । एनअारएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्थापना गरेको नेपाल मेडिसिटी अस्पतालले हद नाघेर लापरवाही गरेकाे खुलासा भएको छ । जिउँदै मान्छेलार्इ मृत घोषित गरेर घाटमा पढाउने गरेको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । सिन्धुली जिल्लाबाट ल्याएर मेडिसेटीमा उपचार गराइरहेकी एउटा  बिरामीलार्इ अस्पतालले मृत घोषित गरेर घाटमा चिता बुक गर्न लगाएको अाफन्तले बताएका छन ।

गम्भीर बिरामी परेपछि हेलिकप्टरमा ल्याएर उपचार गराइरहेकी  सिन्धुली कमलामाइ नगरपालिका वडा नम्बर १० की सीता देवी पाैडेललार्इ मेडिसटीले मरेको भनेर चितासम्म बुक गर्न लगाएको उनका भान्जा लिलानाथ घिमिरेले बताएका छन । माइजुकाे मृत्यु भैसकेकाे भनेर घाटमा चितासमेत बुक गरियो तर माइजुले अाँखा खोल्नु भयाे अहिले अाइसियुमा राखेर उपचार भैरहेको छ । अस्पतालको यस्तो लापरबाहीका  विरूद्ध कडा कारबाही गर्नुपर्ने अावाज सामाजिक सञ्जालबाट उठेको छ । वरिष्ठ न्युराे सर्जन डा गाेपाल रमण शर्माले पाैडेलको उपचार गरिरहेका छन । पाैडेलका भान्जा घिमिरेले सामाजिक सञ्जालमा अाफ्नो धारणा यसरी राखेका छन ।

मानवीय सम्वेदना माथि चिकित्सकको योभन्दा भद्दा मजाक के हुन्छ ?
हाम्री माइजू यतिखेर मेडिसिटी अस्पतालको आइसियुमा मृत्युसँग संघर्ष गर्दै हुनुहुन्छ । उहाँलाई मस्तिष्क रक्तश्राव भएपछि हेलिकप्टरमा तीन दिनअघि ल्याएर अस्पताल भर्ना गरिएको थियो । दुई दिनको प्रयासपछि चिकित्सकले उहाँलाई बचाउन नसकिएको घोषणा गरे । हामी बिचलित भयौं । भाइले मलाई अस्पताल जाँदै गर्दा बाटोमै दुखद खबर सुनायो । म गाडीमै डाँको छोड्न पुगेँछु । बसभरिका मानिसले मलाई सान्त्वना दिए ।

माइजूलाई गुमाउनु पर्दाको पीडा थामिसक्नु हुने कुरै भएन । अस्पताल पुग्दा मामा, भाइबहिनीको रोदन थामी नसक्नु थियो । हजुरआमा गुमाएर एक्लो हुनु भएको १०० बर्ष पुग्नु भएको हजुरबुबालाई पानी खुवाउने माइजू गुमाउनु पर्दाको पीडा यहाँ शब्दमा बर्णन गर्नै सकिँदैन । अस्पतालमा कोकोहोलो थियो । मआफैं बिक्षिप्त थिएँ । अरुलाई सम्हाल्न गाह्रो भइरहेको थियो ।

आफूलाई सम्हालेर अन्तेष्टीको तयारी गरियो । आर्यघाट बुक गरियो । आफन्तहरु जम्मा हुँदै जानु भयो । शब बाहनको ब्यवस्था गरियो । हामी अस्पतालले कति खेर हामीलाई विदाइ दिन्छ भन्ने प्रतीक्षामा थियौं । चिकित्सकसँग कुरा गर्न मआफैं आइसियुमा गएँ । त्यहाँ माइजुलाई सामान्यभन्दा पर्दाले बारेर राखिएको थियो । हेरें, माइजूको अनुहार चहकिलो छ । स्वासप्रसावस नियमित जस्तै छ । अक्सिजनको मात्रा ९८ देखाइरहेको छ । उहाँ मस्त निन्द्रामा रहनु भएको जस्तै लाग्छ । उहाँले हामीलाई छाडेर जानु भएको अनुभूति हुँदै भएन । त्यसपछि चिकित्सकलाई जिज्ञासा राखेँ । उनले भेन्टिलेटरले स्वासप्रस्वास गराइरहेकाले हटाउनासाथ उहाँले आफैं स्वास फेर्न नसक्ने बताए । होला भन्ठाने । चिकित्सकलाई कसरी विश्वास नगर्नू ?
`हामीलाई कति खेर विदाइ गर्नु हुन्छ ?’ चिकित्सकलाई मेरो प्रश्न । ‘तपाईंहरु तयार हुनुस् । तपाईंहरुले भन्नासाथ हामी पठाउँछौं’- उनको उत्तर, ‘अब अन्तिम पटक अनुहार हेर्न कोही आफन्त आउन चाहनुहुन्छ भने ल्याएर देखाइ दिनुस् ।’ त्यसपछि मैले आफन्तहरु सबैलाई एकएक गरि हेर्न पठाएँ । कसैले विश्वासै गर्दैन, अब माइजू हुनुहुन्न भनेर ।

हामी विल तिर्न गयौं । काउन्टरले आइसियुबाट बिल नआएको बतायो । हामी पुन आइसियु पुग्यौं । त्यहाँका चिकित्सकले भने, माइजूले आँखा हेर्नु भयो । उनीहरुले माइजू निको हुने आश अझै जिवितै रहेको बताए । खुशीको सिमै रहेन । सीमा हुने कुरै भएन । अन्तेष्टी गर्न लागेको ब्यक्ति जिवितै रहेको खबर सुन्दा कसलाई खुशी नलाग्ला ? त्यसपछि आइसियुबाट उहाँलाई सिटिस्क्यान गर्न लगियो । त्यतिखेर सबै आफन्तले हेर्न पाए । उहाँको आँखा खुल्लै थियो । सिटिस्क्यान गरेर फर्काउँदा उहाँका आँखा बन्द थिए ।

अस्पतालले त्यसपछि पुन उहाँको उपचार सुरु गरेको छ । आशा देखाएको छ, माइजू छिट्टै निको हुनुहुने छ । माइजूको सुस्वास्थ्यको कामना हामी तीन दिनदेखि गरिरहेका छौं । उहाँका छोरा, छोरी, ज्वाईं, मलगगायतले अस्पताल छाडेका छैनौं । यस्तो अबस्थामा अस्पतालले माइजूको मृत्युको खबर दिएर हामीमाथि भद्दा मजाक गरेको छ । यस्तो मजाक गर्न चिकित्सक र नेपालकै चर्चित ब्यवसायी, एनआरएनका संस्थापक अध्यक्षसमेत रहेका उपेन्द्र महत्तोले संचालन गरेको अस्पताललाई छुट छ ?

(हामी दैनिकी परिवार अस्पतालमा उपचार गरार्इरहनु भएकी सीतादेवी पाैडेलको स्वास्थ्यलाभको कामना गर्दछाै ।)

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार २१:३९