२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

सोरु गाँउपालिकाकाे स्वास्थ्य चौकीमा सिटामोल पनि सकियाे

१८ पुस, मुगु । हिमाली जिल्ला मुगुकाे सोरु गाँउपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा सिटामोल समेत पाइन छाडेकाे छ । ‍औषधि अभावका कारण उपचारका लागि चाैकीमा आएका बिरामीहरू उपचारविनै फर्कने गरेका छन् ।

विभिन्न तहका सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्र र औषाधि खरिदमा लखौँ बजेट विनियोनज गरे पनि सोरु गाँउपालिकाहरूमा वर्षैभरि औषाधि अभाव भइरहने सोरु गाँउपालिका-६ सोरुकोटका बलिराज शाहीले बताए । जसका कारण दुर्गमका सर्वसाधारण सामान्य बिरामी हुँदा समेत ज्यान गुमाउन बाध्य छन् ।

स्वास्थ्य चौकी नार्थपुका अहेब टिकाराज आर्यायका अनुसार गाउँपालिकाबाट आउने औषधिले गत बर्ष जम्मा तीन महिना पुगेकाे थियाे । याे वर्ष अहिलेसम्म कुनै पनि तहकाे सरकारबाट औषधि आएको छैन । अब त सिटामोलसम्म पनि बाँकी नरहेकाे उनकाे भनाइ छ । औषधिका लागि धेरै पटक पालिकासँग माग गरे पनि नपाएकाे उनले बताए । चाैकीमा कहिलेकाही सुत्केरी गराउन आउँदा समेत प्रर्याप्त सामाग्री अभाव हुने गरेकाे उनले बताए । ‘विधुत नहुँदा मोबाइलको लाइट बालेर सुत्केरी गराउन बाध्य छाै‌,’ स्वास्थ्य चौकी नार्थपुका अहेब आर्यायले भने । उनका अनुसार औषधिको अभावले स्टाेर पनि खाली भएकाे छ ।

सोरु गाउँपालिका स्वास्थ्य शाखाका संयाेजक कर्णबहादुर सावतका अनुसार आव २०७७/७८ मा खरिद गरेको औषधिले अहिलेसम्म काम चलेकाे छ । आव २०७८/०८९ को औषधि खरिद गर्न पालिकाबाट बजेट बिनियोजन गरे पनि प्रमुख प्रशासकीय अधिकृतहरूको फेरबदलले खाता सन्चालनलगायत नहुँदा पालिकाभित्र औषधिको चरम अभाव भएको हाे ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १३:३९