२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

‘आफू नेतृत्वमा नरहे सर्वस्व डुब्छ भन्ने कमल थापाको सोच मनोरोग हो’

१६ पुस, काठमाडौं । राप्रपाको अध्यक्षबाट पराजित भएपछि कमल थापाले दिएको अभिव्यक्तिको पार्टीभित्रबाटै विरोध हुने क्रम बढेको छ । एक महिनाअघि भएको पार्टीको महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमा राजसंस्थासहितको लोकतन्त्रको राजनीतिक लाइन अवलम्बन गरिने उल्लेख गरेका थापाले अध्यक्षमा पराजित भएपछि यसविपरीत अभिव्यक्ति दिन थालेपछि उनको विरोध भएको हो ।

उनी पार्टी अध्यक्ष रहँदा पार्टीको प्रचार विभागको सदस्य सचिव रहेका सुजित केसीले राप्रपाको आधिकारिक लाइनविपरीत अभिव्यक्ति दिनेहरूमाथि छानबिन गरेर कारबाही गरिनुपर्ने बताउँछन् ।

‘राप्रपाको जिम्मेवार सदस्य भएर राजा वा राजसंस्थाबारे भ्रम फैलाउने, घृणा पैदा गर्ने, कार्यकर्ता/शुभेच्छुक/शुभचिन्तकलाई विभाजित गर्ने कार्य दुःखद् छ । यस्ता कार्य तत्काल रोकिनुपर्छ,’ उनी न्युज कारखानासँग भन्छन्, ‘महाधिवेशनको बन्द सत्रमा आफैंले राजनीतिक कार्यपत्र पेस गर्ने, राजसंस्थासहितको लोकतन्त्रको राजनीतिक लाइन सर्वसम्मतिले पास गर्ने र महाधिवेशनको परिणाम आएको एक घण्टा भित्र राजनीतिक लाइनविपरीतको अभिव्यक्ति दिने मात्रै होइन त्यसलाई निरन्तर उठाइरहने प्रवृत्ति अप्रजातान्त्रिक, अमर्यादित, व्यक्तिवादी र आफू नरहे सर्वस्व डुब्छ भन्ने मनोरोग हो ।’

पार्टीको आधिकारिक लाइनविपरीत अभिव्यक्ति दिने कार्य तत्काल रोक्नुपर्ने उनको जोड छ । अघिल्लो महिना भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका थापाले राजसंस्थाविपरीत अभिव्यक्ति दिँदै आएका छन् । महाधिवेशनपछि उनी पार्टी कार्यालयसमेत गएका छैनन् ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार १५:२९