२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

दुई वर्षदेखि स्वास्थ्यकर्मी छैनन्, बन्दीलाई समस्या

१५ पुस, तनहुँ । दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन् । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेका छन् । कर्मचारी समायोजन पश्चात् घिमिरे जिल्लाको म्याग्दे गाउँपालिकामा सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बन्न पुगेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

सामान्य रोगको उपचारका लागि पनि बाह्य अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँले कैदीबन्दी अस्वथ्य हुँदा बाहिर गएर स्वास्थ्य परीक्षण गराउन गाह्रो मान्ने गरेको बताउनुभयो । कैदीबन्दीको स्वास्थ्यपरीक्षण गराउन लैजाँदा हत्कडी लगाएर हिँडाएर लैजानुपर्ने अवस्था रहेकाले चिनेजानेका, आफन्तजन, साथीभाइ भेट हुने हुँदा अप्ठ्यारो मान्ने गरेको उहाँले जानकारी दिनुभयो ।

“गाडीमा लैजाउ भने सुविधा छैन्, हिँडाएरै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “कारागारमै स्वास्थ्यकर्मी हुँदा कैदीबन्दीलाई पनि सहज र कारागार व्यवस्थापनलाई पनि सहज हुन्थ्यो ।” जटिल प्रकृतिका बाहेक अन्य बिरामीको स्वास्थ्यकर्मीले कारागारमा स्वास्थ्यपरीक्षण गरी औषधि दिने व्यवस्था रहेपनि अहिले स–साना रोगका लागि पनि बाहिर लैजानुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सो कारागारमा हाल १८ सुरक्षाकर्मी राखिएको बताइएको छ । दमौली कारागारमा हाल कैदी १४४ र थुनुवा ११४ गरी २५८ जना रहेको कारागार प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार १७:१३