२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

१४ पुस, रुकुमपूर्व । रुकुमपूर्वमा भारी हिमपात भएको छ । जिल्लाको लेकाली तथा हिमाली क्षेत्रमा गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ । जिल्लाको तीनवटै गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको हो । हिमपातकै कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ भने गाईवस्तु चराउन पाइएको छैन । निरन्तरको झरी तथा हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

चिसोको कारणले मानिसको दैनिकी कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । हिमपातको कारण अत्यधिक चिसो बढेपछि धारामा पानी जमेर खानेपानीको समस्या देखिएको छ भने मानिस घरभित्रै थुनिएर बस्नुपर्ने अवस्था सिर्जना भएको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताउनुभयो । जताततै बाक्लो हिउँ जमेका कारण गाईवस्तुको चरण क्षेत्रको अभावसमेत देखिएको पुनले बताउनुभयो । सिस्ने–१ नम्बरका वडाध्यक्ष मानबहादुर बुढाले पनि हिमपातका कारण घर बाहिर निस्कन नसकिएको बताउनुभयो । यहाँका अधिकांश मानिसले चौपाया पाल्दै आएका छन् ।

यहाँ अधिकांश क्षेत्र हिउँले ढाक्दा चौपायाँलाई के खुवाउने भन्ने पीर परिरहेको वडाध्यक्ष बुढाले बताउनुभयो । जिल्लामा सबै भन्दा धेरै बालबालिका र ज्येष्ठ नागरिक चिसोबाट प्रभावित बनेका छन् । हिमपातकै कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ । लोकमार्ग अवरुद्ध भएपछि आवतजावतमा समस्या छ । रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्ना लेकमा बाक्लो हिउँ जमेको कारण लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट आएका गाडीलाई निसीतीरै फर्काइएको छ भने रुकुमकोटबाट गएका गाडीलाई रुकुमकोटमै फर्काइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनुभयो ।

हिउँ पन्छाएर सडक खुलाउने योजना बनाए पनि हिउँ पर्ने क्रम नरोकिएपछि मेसीन लाउन पनि समस्या भएको उहाँको भनाइ छ । हिउँ पर्ने क्रम रोकियो भने मेसिन लगाएर बाटोमा जमेको हिउँ पन्छाएर सडक सञ्चालन गर्ने प्रजिअ बाँस्कोटाले बताउनुभयो । यातायातको अभिन्न अङ्ग अर्थात् जिल्लाको मुटु मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १८:३३