२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिए

१२ पुस, रसुवा । रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाले अभियान स्वरूप जिल्लाको चार वटा गाउँपालिकामा गरेको फोटोसहितको मतदाता नामावली संकलनमा १६ सय ३९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । जसमा ८ सय ६५ जना पुरुष र ७७४ जना महिला रहेको उनले बताए ।

जिल्लाको चार वटा गाउँपालिकामा दुई चरणमा मतदाता नामावली संकलन गरिएको थियो । पहिलो चरणअन्तर्गत गएको मंसिर १७ देखि २६ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा आमाछोदिङ्मो गाउँपालिकामा २ सय ४९ जना र नौकुण्ड गाउँपालिकामा ४ सय १५ जना नयाँ मतदाता थपिएका छन् ।

त्यसैगरि दोस्रो चरणअन्तर्गत मंसिर २९ देखि पुष ९ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा उत्तरगया गाउँपालिकामा ४ सय ८० जना र कालिका गाउँपालिकामा ४ सय ९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाईकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरूप अघि बढाइएको थिएन । निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य भइरहने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

स्थानीय तथा संघमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पनि सक्किँदैछ । रसुवामा २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार ८ सय ५१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १७:१३