२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

जुम्लाकाे खलंगामा बर्षाैदेखि थुप्रिएकाे फाेहाेर एक सातामै यसरी उठ्याे

११ पुस, जुम्ला । जुम्लाको सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेकाे बेलामा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले एक साता मै सदरमुकाम बजार खलंगाको मुहार फेरिदिएका छन् । प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाएलगत्तै बुढ्थापाले बजारको मुहार फेरिदिएका हुन् ।

जिम्मेवारी पाएसँगै उनले अस्थायी डम्पिङसाइटको समेत व्यवस्थापन गरेका छन् । यति मात्रै हाेइन उनी हरेक बिहान नगरका कर्मचारीसँगै फोहोर उठाउन समेत निस्कन्छन् । यसले गर्दा बर्सौदेखि दुर्गन्धित बनेको नगरले फोहोरबाट मुक्ति पाउन थालेको छ । उनी भन्छन्, ‘हाम्रो पहिलो प्रथामिकता बजार सफा बनाउने हो ।’

बजार सफा भएपछि खलंगामा रहेकाे जुगाड खोलाकाे फोहोर पनि हटाउने बुढ्थापाले बताए । ‘अहिले मुख छोपेर हिड्ने अवस्था छ। हामी त्यसलाई पनि बेलैमा सरसफाई गर्नतर्फ लाग्ने छौं,’ उनले भने, ‘हामी पहिलो चरणमा फोहोर उठाउँछौँ, त्यसअनुसार नगरले व्यापारीहरूबाट शुल्क पनि लिन्छौँ । त्यसपछि हरेक घर तथा पसलबाट निस्कने फोहोर कुहिने र नकुहिने छुट्टाछुट्टै राख्न लागउँछौ । अटेर गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याउनु पर्ने पनि हुनसक्छ ।’

बुढ्थापाले बढ्दै गएको सहरीकरणले फोहोरमैला व्यवस्थापन गर्न असहज हुने भएकाले दीर्घकालिन योजना बनाएरअघि बढ्न थालेको बताए । उनले भने, ‘प्लास्टिकको अत्याधिक प्रयोगसँगै पर्चा पम्प्लेटले सार्वजनिक स्थानमा फोहोर बढेको छ ।’

जुम्ला बजार सरसफाईका लागि सबैले आ-आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, सदरमुकामभित्रका घरबाट मासिक एक सय, व्यवसायीबाट मासिक तीन सय र ठूला उद्योग तथा होटलबाट मासिक एक हजार रुपैयाँ फोहोर शुल्क उठाउन थालिएको छ ।

चन्दननाथ नगरपालिकाको राजश्व परामर्श समितिको बैठक तथा नगरसभाको निर्णयअनुसार व्यवसायीबाट शुल्क उठान सुरु गरेकाे छ । चन्दननाथ नगरपालिका जुम्लाका फोहोर मैला तथा विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बजारको फोहोर नियमित उठाउने गरेकाे बताए । फोहोर व्यवस्थापनलाई सहज बनाउन व्यवसायीबाट शुल्क उठाइएको हाे ।’ उनले भने, ‘छलफलपछि सहभागीले नगरपालिकालाई सफा, सुन्दर र स्वस्थ बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।’

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १४:२९