२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

झलनाथ खनालको घरमा सत्तारूढ कार्यदलको बैठक, एमसीसी संसदबाट अनुमोदन गर्ने सहमति

७ पुस, काठमाडाैँ । एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न बुधबारबाट छलफल सुरु गरेको हो ।

कार्यदलका संयोजक खनालको डल्लुस्थित निवासमा बसेको पहिलो बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले एमसीसी अनुमोदनका लागि सहमति जुटेको पनि बताए ।

कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्याएर सञ्चार माध्याममार्फत् नेपाली जनतालाई सुसूचित गर्ने योजना पनि बनाएको छ । मन्त्री कार्कीले भने, ‘एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौं । र आज प्रारम्भिक छलफल भएको छ । छलफल सकारात्मक भएको छ । केही दिनपछि हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छाैँ ।

सत्तारुढ पाँच दलले केही दिन अघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र काँग्रेस नेता समेत रहनु भएका मन्त्री कार्की सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसीबारे धेरै छलफल गरेको उल्लेख गर्दै निष्कर्षमा अग्रसर हुने गरी छलफललाई अघि बढाएको पनि जनाएको छ ।

काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई पारित गरेर जानुपर्ने पक्षमा छन् भने सत्तासाझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा यसलाई संसदबाट पारित गर्न नहुने धारणा राख्दै आएका छन । यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तारुढ दलहरुको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरुले निर्णय लिने बताउँदै आएको छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार २०:४८