२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

विद्युतीय कारोबारमा कर वृद्धिको प्रस्तावपछि घानाको संसदमा हंगामा

७ पुस, काठमाडाैँ । विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरूबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरूबीच मुक्का हानाहान भएको हो । प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो ।उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ ।

प्रमुख विपक्षी नेसनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी)ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ । सरकारको निर्णयले न्यून आय भएका मानिस र बैंकिङ क्षेत्रका मानिस प्रभावित हुने विपक्षीको भनाइ छ ।

अर्थमन्त्री केन ओफोरी आर्टाले करको दायरा बढाउनुपर्ने आवश्यक भएको बताएका छन् । कर वृद्धिले अर्को वर्ष थप एक अर्ब १५ करोड डलर राजस्व संकलन हुने उनको भनाइ छ । सांसदबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ११:३२