२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

५ पुस, काठमाडाैँ । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन गरिएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको संयोजकत्वमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, तीनवटै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति क्रमशः जगमान गुरुङ, हरिहर शर्मा र गोपाल चित्रकार, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठानका सचिव क्रमशः श्यामप्रकाश तमोट र विपिन घिमिरे एवं सांस्कृतिक संस्थानका अध्यक्ष र महाप्रबन्धक क्रमशः प्रेमनाथ अधिकारी र अशोक प्यासी राई सदस्य तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सचिव प्रा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ सदस्य सचिव रहेको मूल व्यवस्थापन समितिसमेत गठन गरिएको हो ।

प्रतिष्ठानका अनुसार बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ‘पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न नेपाल राष्ट्रको एकीकरणमा विभिन्न जनसमुदायको सहभागिता’ विषयक विचार–गोष्ठी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सांस्कृतिक कार्यक्रम संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी तुल्याउन उक्त बैठकद्वारा यही पुस २५ गते पुस्तक प्रदर्शनी र चित्रकला प्रदर्शनी, पुस २६ गते विचार–गोष्ठी तथा पुस २७ गते बिहान विभिन्न जातीय सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सोही दिन अपराह्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने साथै पुस्तक प्रदर्शनी, विचार–गोष्ठी र शोभायात्राको व्यवस्थापन नेपाल प्रज्ञा–प्रतिष्ठानले गर्ने, चित्रकला प्रदर्शनीको व्यवस्थापन ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्ने एवम् सांस्कृतिक कार्यक्रमको व्यवस्थापन सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले गर्नेसम्बन्धी निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार ११:३४