१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सांस्कृतिक संस्थानले नाटक मञ्चन शुरु गर्ने, एक चिहानबाट सुरू हुने

३ पुस, काठमाडाैँ । सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ । संस्थानका महाप्रवन्धक अशोककुमार राईले बिभिन्न पाठ्यक्रममा भएका कृतिहरुमा माथि नाटक मंचन गरेर देखाइने जानकारी दिए । अध्ययन अध्यापनमा हप्तादिन लाग्ने एक चिहान उपन्यास नाटक २ घण्टामा हेरेर बुझ्न सकिने उनले बताए ।

नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरुमा नाटक शुरु गर्न लागिएको उनको भनाइ छ । न्यूजएजेन्सी नेपालसँगको कुराकानीमा महाप्रवन्धक राईले सांस्कृतिक संस्थानप्रतिको विश्वासलाई मध्यनजर गरेर विद्यार्थी, शिक्षक र विद्यालयहरुले हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ बाट नाटक शुरु गर्ने बताए । महाप्रवन्धक राईले पढेर भन्दा हेरेर विद्यार्थीहरुमा नाटकको प्रभावकारिता बढिरहेकोले नाटक मञ्चन गर्न लागेको प्रष्ट पारे ।

महाप्रवन्धक राईले भने, ‘साँस्कृतिक संस्थानले पहिलेदेखि नै नाटकहरु गर्दै आएको हो । यसमा हृदयसचन्द्रसिंह प्रधानको एक चिहान कक्षा १२ मा समेटिएको छ । धेरै कलेज र विद्यार्थीहरुले नै यो मञ्चन गर्नुपर्छ भनेर रिक्वेस्ट आइहरेको थियो । बीचमा कोभिडका कारणले गर्दा क्लासहरु भएन, धेरै कलेज, विद्यार्थीहरुबाट यो नाटक गनुपर्छ भन्ने रिक्वेस्ट आएकोले हामीले गरेका हौँ ।’

उनले अघि भने, ‘यसमा के छ भने पढाईको जुन पद्धति छ, उपन्यास पढ्दा विद्यार्थीहरुले जति मेहेनत गर्नुपर्छ, शिक्षकहरुले बुझाउन जति मेहेनत गर्नुपर्छ, तर नाटक प्रभावकारी रुपमा मञ्चन गरिदियो भने बच्चाहरुले रमाई रमाई कति हप्ता लगाएर पढ्ने, बुझ्ने कोर्षलाई उनीहरुले दुई घण्टामा नै बुझ्छन् । यो भन्दाअघि आएर नाटक हेरेका विद्यार्थीहरुले महिनौँ घोकेको पढेको भन्दा राम्रोसँग बुझेको कुराहरु गरेका छन् । शिक्षकहरुले पनि हामीले नबुझेका कुराहरु पनि रहेछन् भन्ने कुराहरु राख्नुभएको छ । नाटक हेरेपछि विद्यार्थीहरुको उत्तर दिने तरिका पनि धेरै परिवर्तन भयो । धेरै प्रभावकारिता देखियो । यो नाटक पुष ३ गते मञ्चन हुनेछ । यो १०९ औँ पटकको शो हुनेछ । हामीले यसलाई काठमाडौंमा मात्रै होइन, बाहिरका विद्यार्थीहरुलाई पनि देखाउने किसिमले तयारी गरिरहेका छौँ ।’

महाप्रवन्धक राईले पुस ३ गतेदेखि नाटक नियमित मञ्चन हुने बताए । उनले सांस्कृतिक संस्थानले विभिन्न नाटक, कथा, उपन्यासहरुलाई नाट्य रुपान्तरण गरेर काठमाडौंमा मात्रै नभइ बाहिर पनि विद्यार्थीहरुलाई देखाउने तयारी गरिरहेको बताए ।

महाप्रवन्धक राईले कक्षा १२ सम्मका नाट्यकृतिहरुलाई मात्र नभइ मास्टर, डिग्रिसम्म अध्ययन गर्नुपर्ने कृतिहरुलाई नाटकमा प्रश्तुत गर्ने लक्ष्य बनाएको पनि बताए । उनले साँस्कृतिक संस्थानलाई आवश्यक बजेट उपलब्ध गराएमा पनि संस्थानले शिक्षाको क्षेत्रमा उल्लेख्य सहयोग पु¥याउने बताए ।

प्रकाशित मिति : ३ पुष २०७८, शनिबार ०९:०७