२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउने तयारी

२ पुस, कपिलवस्तु । कोरोनाविरुद्धको मोर्डना खोपलाई विद्यालयमा पुगेर लगाउने तयारी भएको छ ।

लक्षित उमेर समूहका बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमै पुगेर खोप लगाउने अन्तिम तयारी भएको छ । जिल्ला भरीका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । कार्यालयले सबै बालबालिकालाई खोप लगाउनको लागि पालिकाका शिक्षा र स्वास्थ्य शाखाका प्रमुखसँग सूक्ष्म योजना निर्माण भएको छ ।

पुस ४ गतेदेखि पहिलो चरणअन्तर्गत देशका ३७ जिल्लाका १७ लाख बालबालिकालाई मोर्डना खोप लगाउन सुरु हुने छ । सोही अभियानअन्तर्गत कपिलवस्तुमा पुस ५ गतेदेखि खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । उनले २०६१ साल मङ्सिर देखी २०६६ साल मङ्सिर भित्र जन्मिएका बालबालिकाहरूलाई नजिकको विद्यालयमा गई खोप लगाउन अनुरोध गरेका थिए ।

लक्षित समूहका सबैलाई खोप लगाउन कक्षा ६ देखि माथि सञ्चालन भएका सबै विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ । विद्यालय पढ्दै गरेका र विद्यालय छाडेका सबैलाई खोपको दायरामा ल्याउन शिक्षक तथा स्वास्थ्यकर्मी परिचालन गरिने बुद्ध भूमि नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताए ।

मोर्डना खोप २८ दिनको फरकमा २ पटक लगाइने विश्व स्वास्थ्य सङ्गठनका कन्सलट्यान्ट मुकुन्द रेग्मीले बताए । रेग्मीले खोपको विषयमा सरोकारवालालाई सहजीकरणसमेत गरेका थिए । पहिलो मात्राको लागि ८० हजार डोज खोप स्वास्थ्य कार्यालयलाई प्राप्त हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश चन्द्र घिमिरेले बताए । हरेक पालिकामा १० दिनसम्म खोप अभियान चल्ने बताइएको छ ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १७:५०