१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिवि सेवा आयोगको सदस्य नै माओवादी कमाण्डर, निकायको निष्पक्षतामा प्रश्न चिन्ह

२४ मंसिर, काठमाडौँ । स्वतन्त्र र निष्पक्ष भूमिकामा रहनुपर्ने निकाय त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारी नै अमुक राजनीतिक दलको केन्द्रीय निकायमा कमाण्डरको भूमिकामा नियुक्त भएपछि सिंगो प्राज्ञिक क्षेत्र लज्जित बनेको छ ।

हाल त्रिवि सेवा आयोगको सदस्य रहेका प्रा डा हेमराज ढकाल केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागको सदस्यमा नियुक्त भएका छन । उनको नियुक्तिपछि आयोगको निष्पक्षतामा समेत प्रश्न उठेको छ ।ढकाल लगायतहरूको राजनीतिक पार्टीमा तोकिएको जिम्मेवारीले प्राज्ञिक क्षेत्रमा व्यापक प्रश्न उठेको हो ।

त्रिवि सेवा आयोग त्रिवि अन्तर्गतमा निकायमा आवश्यक पर्ने शिक्षक तथा कर्मचारीहरूको नियुक्ति र बढुवा सिफारिस गर्ने निकाय हो । आयोगले शिक्षक अन्तर्गत उपप्राध्यापक, सहप्राध्यापक, प्राध्यापक र कर्मचारी अन्तर्गतका विभिन्न पदहरूमा निष्पक्ष र स्वतन्त्र ढंगले प्रतिस्पर्धात्मक प्रक्रिया गरेर कार्यसम्पादन गर्नुपर्ने हुन्छ ।

यसका लागि उक्त आयोगको अध्यक्ष र सदस्यमा रहने पदाधिकारी तटस्थ हुनुपर्ने र कुनै पनि राजनीतिक दल विशेषको सदस्य हुन नहुने भन्ने कानुन प्रावधान रहेको छ । उनीहरू त्यस्ता नियुक्ति अघिको समयमा कुनै राजनीति दल विशेषको निकटतामा रहेको भए पनि त्यसपछि निकटता समेत त्याग्नुपर्ने हुन्छ । तर यहाँ त आयोगको वहालवाला सदस्य नै राजनीति दलभित्र कमाण्डर हुन दाैडिएका छन।

पछिल्लो समय सेवा आयोगले सहप्राध्यापक र प्राध्यापक बढुवाको प्रकाशित नतिजामा व्यापक अनियमितता भएको भनेर सार्वजनिक भैरहेको समयमा ढकाल माओवादी केन्द्रको कमाण्डर बनेपछि झन शंका बढेको छ । यसरी ढकाल माओवादीको केन्द्रीय विभागको कमाण्डर बनेपछि यसअघि विवादित बनेको नतिजाको विश्वसनियतामा समेत प्रश्न उठेको छ ।

सेवा आयोगले आफ्ना नातागोता र राजनीतिक आस्थाको आधारमा पूर्वाग्रह राखेको पीडित प्रतिस्पर्धीहरूले यसअघि नै बताइरहेकाबेला ढकाल लगायतको राजनीतिक छलाङ्ले थप प्रश्नहरू सिर्जना गरेको छ ।

विद्यालयमा अध्यापन गर्ने शिक्षक र विश्वविद्यालयका प्राध्यापक एवं सरकारी निकायका कर्मचारीले कुनै पनि राजनीतिक दल विशेषको सदस्य बनेर राजनीति गर्न नपाउने विषय चर्को रूपमा उठिरहेको छ । र अदालतसम्म पुगेर राजनीति दलको सदस्य बनेर काम गर्न रोक्न आदेश समेत जारी भएको छ । तर त्रिविमा प्राध्यापन गर्ने र त्यहाँको विभिन्न महत्वपूर्ण निकायको जिम्मेवार पदमा रहेकाहरू राजनीतिक दलमा खुलमखुला आवद्ध भएर सक्रिय भैरहेका छन ।

यही मेसोमा त्रिविको अनुगमन तथा निरीक्षण महानिर्देशनालयका प्रमुख विष्णु खनाल, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, राष्ट्रिय परीक्षा बोर्डका चन्द्रकला घिमिरे पनि नेकपा माओवादीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागमा कामण्डर बनेका छन ।

यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मी पनि माओवादीको केन्द्रीय विभागमा कमाण्डर तोकिएका छन । यस्तै त्रिविमा आफूलाई स्वघोषित रूपमा अब्बल घोषणा गर्ने शिक्षक प्राध्यापकहरू नेकपा एमाले र नेपाली कांग्रेसको केन्द्रीय निकायमा रहेर राजनीतिक हस्तक्षेपलाई स्वागत गरिरहेका छन । अब यसको अन्त्यका लागि त्यहाँ विद्यार्थी र सम्बन्धित नियमक निकायले ध्यान दिनु आवश्यक छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ११:३४