२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

कांग्रेस खोटाङ सभापतिको दौडमा पूर्वराज्यमन्त्री र पूर्वसभापति

७ मंसिर, खोटाङ । नेपाली कांग्रेस खोटाङको सभापतिका लागि पूर्वपर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री सर्वधन राई र पूर्व सभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । आगामी राष्ट्रिय महाधिवेशन तथा सातौं जिल्ला अधिवेशन अन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवानिकट पूर्व राज्यमन्त्री राई रामचन्द्र पौडेलनिकट पूर्व सभापति राई आमनेसामने भएका हुन् ।

कांग्रेस सभापतिका चार आकांक्षीमध्ये देउवा निकट महासमिति सदस्य रविप्रकाश राई र सिटौलानिकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई ‘ब्याक’ भएपछि अन्तिममा पूर्वराज्यमन्त्री राई र पूर्वसभापति राईबीचमा कडा प्रतिस्पर्धा हुने भएको हो ।

जिल्ला सभापतिका आकांक्षी रविप्रकाश र भूपेन्द्रको समूहले सर्वधनलाई समर्थन गरेका छन् । सभापतिको दाबीबाट पछि हटेका दुवै जना केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार बनेका छन् । विष्णुकुमार र रविप्रकाशको निकटता कायम रहेको पनि चर्चा पनि कांग्रेस वृत्तमा छ ।

पूर्वराज्यमन्त्री राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन शैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सहसचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन् ।

यस्तै, पूर्वसभापति राईको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सहसचिवमा सार्जन राई र शालिकराम बञ्जराको मनोनयनपत्र दर्ता भएको छ । पूर्वसभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन छ ।

कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी र ३२ सदस्य चयनका लागि दिक्तेलको सरस्वती माविमा मतदान हुँदै छ । यस्तै, २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि मतदानबाटै छनौट हुनेछन् । मतदानमा जिल्लाका एक हजार ४०४ प्रतिनिधिले मताधिकार प्रयोग गर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १४:३९