२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

रुपन्देही-५ मा कांग्रेस नेतृत्व सर्वसम्मत, विवादका कारण क्षेत्र नम्बर ३ मा मतदान नै सुरु भएन

६ मंसिर, बुटवल । नेपाली का‌ंग्रेसको १४औं महाधिवेशन अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । वसिउल्लाह मुसलमानको नेतृत्वको क्षेत्रीय कमिटी निर्विरोध निर्वाचित भएको हो । उनी यसअघिका पनि सभापति हुन् । जिल्लाका अन्य क्षेत्रमा भने दुईवटा प्यानलबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

क्षेत्र नम्बर ५ को क्षेत्रीय सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरन्जीवी खनाल पनि निर्विरोध चयन भएका निर्वाचन अधिकृत नुरजंग केसीले जानकारी दिए ।

क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्य पनि सर्वसम्मत भएका छन् । यो क्षेत्र अन्तर्गतको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा पनि कांग्रेसको नेतृत्व सर्वसम्मत चयन भएको थियो । यो निर्वाचन क्षेत्र कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहको निर्वाचन क्षेत्र हो ।

क्षेत्र नम्बर ३ मा भने दुई समूहबीचको विवादका कारण अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । दिउँसो २ बजेदेखि मतदान सुरु हुने भनिए पनि दुई समूहबीच निर्वाचनको विषयमा विवाद हुँदा अहिलेसम्म मतदान प्रक्रिया सुरु हुन नसकेको हो ।

मतदान प्रक्रिया सुरु नहुँदा मतदाताहरू भने निराश देखिएका छन् । उनीहरूले पार्टी नेतृत्वलाई छिटो विवाद सुल्झाएर मतदान प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा भने मतदान भइरहेको छ । मतदान सकिएपछि सोमबारबाटै मतगणना गर्ने तयारी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार १७:५४