२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

एमाले महाधिवेशनमा २ सय ५० भन्दा बढी चिकित्सक परिचालन गरिन्छः संयोजक ढकाल

५ मंसिर, काठमाडाैँ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ सय ५० भन्दा बढी चिकित्सकहरु परिचालन गरिने भएको छ । महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य समितिको संयोजक पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक रहनुभएको छ ।

समितिका सदस्यहरुले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र बन्दसत्र हुने सेभेन स्टार होटलको अवलोकन गरिसकेको छ । समितिले प्राथमिक उपचारदेखि भैरपरी आउने स्वास्थ्य समस्या हेर्नेगरी व्यवस्थापन गरेको संयोजक ढकालले बताउनुभयो । आवश्यक संख्यामा तयारी अवस्थामा एम्बुलेन्स राखिनेछ ।

महाधिवेशन उद्घाटनका दिन मंसिर १० गते नारायणी नदी किनारमा चिकित्सकहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चार वटा स्टल राख्ने तयारी भएको छ । बन्द सत्रका लागि सेभेन स्टार होटल नजिकै रहेको लायन्स क्लवको भवनमा चार वटा सटर राखेर नियमित चेकजाँचसहितको आपत्कालीन चिकित्सकीय सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

समितिमा रहनुभएका डा. कृष्ण अधिकारी र डा. सन्तोष पौडेलले दुई दिनअघि चितवनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीसँग छलफल गरेर आवश्यक व्यवस्थापन टुंगो लगाउनुभएको छ । फिल्डमा खटिने अधिकांश चिकित्सक चितवन र आसपास क्षेत्रका रहनुहुनेछ ।

समितिले होटलमा रहेका प्रतिनिधिहरुका लागि आपत्कालीन स्वास्थ्य समस्या आइपरे नजिकका अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाएकोछ । अतिआवश्यकीय सेवाका लागि प्रतिनिधि रहने क्षेत्रमा डेक्स राखिने ढकालले बताउनुभयो । नियमित र उमेरजन्य औषधि सेवनका लागि निःशुल्क व्यवस्था मिलाइएको छ । जस्तैः सुगर, प्रेसरका औषधि छुटेका प्रतिनिधिहरुलाई सहजै उपलब्ध गराइनेछ ।

आमसभा वा बन्दसत्रका लागि निर्धक्कसँग आउने जाने जाने र स्वास्थ्यको जोखिम नहुने गरी व्यवस्थापन गरिएको संयोजक ढकालले बताउनुभयो । ‘महाधिवेशन नसकिँदासम्म स्वास्थ्य सेवा प्रवाहित गर्छौं,’ उहाँको भनाइ छ, ‘सामग्रीहरुको सपोर्ट केन्द्रबाट हुन्छ, चिकित्सकहरु स्थानीय नै रहनुहुनेछ ।’

कोभिड– १९ को जोखिम कम नभएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइने ढकालले बताउनुभयो । ‘सचेत पंक्ति नै आउने भएकाले मापदण्ड पालना हुनेमा दुईमत छैन,’ उहाँले भन्नुभयो । खुला र बन्द दुवै सत्रमा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । विदेशबाट आउनुभएका प्रतिनिधिहरुलाई सम्बन्धित देश फर्कंदा पीसीआर परीक्षण सहजरुपमा गराउने व्यवस्था पनि समितिले नै मिलाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार २१:३१