२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

महाधिवेशनमा सहभागी हुन देशभरका उद्योगी व्यवसायीलाई एमालेको आह्वान

३ मंसिर, काठमाडाैँ । काठमाडौं । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय संगठनको राष्ट्रिय भेला भएको छ । शुक्रबार काठमाडौंमा भएको भेलामा सहभागी एमाले नेताहरुले महाधिवेशनपछि एमाले पहिलो शक्ति हुने बताउनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले चितवनमा मंसिर १० गतेदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन देशभरका उद्योगी व्यवसायीलाई आह्वान गर्नुभएको छ । उहाँले महाधिवेशन सबै नेपालीको पर्व भएको उल्लेख गर्नुभयो ।

पौडेलले (एमाले) विभाजित भएको अफवाह फैलाए पनि जनमतले त्यसलाई स्वीकार नगरेको बताउनुभयो । ‘विभाजनलाई जनमतले स्वीकारेको छैन, आम नेपाली विभाजनको खिलाफमा छन्,’ उहाँको भनाइ थियो, ‘एकथरीले विभाजन भएको भन्दै आनन्द अनुभूति गरिरहेकाबेला हामीले विधान महाधिवेशन सम्पन्न ग¥यौं, एमालेमात्र होइन देशका लागि त्यो दुर्लभ घटना थियो ।’ एमालेको गतिले राष्ट्रको गतिलाई निर्धारण गर्ने उहाँले बताउनुभयो ।

पौडेल महाधिवेशनअघि वडा र पालिकाको अधिवेशन एकैपटक सम्पन्न भएको स्मरण गर्दै महाधिवेशनपछि एमालेले एकैदिन प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्ने जानकारी दिनुभयो । पार्टीका उपमहासचिव पौडेलले एमाले महाधिवेशनपछि मुलुकलाई निर्वाचनतर्फ डोहो¥याउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका महाधिवेशन मूल समारोह कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनले अबको चुनावपछि एमाले पहिलो शक्ति हुने शंखघोष गर्ने बताउनुभयो । ‘अर्को चुनावमा एमाले एक्लैले विजय प्राप्त गर्ने शंखघोषका साथ महाधिवेशन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सबै उपस्थिति भइदिनुहोस् ।’ पाण्डेले नेपालअवसरको खानी रहेको बताउँदै पार्टीले औद्योगिकरणका लागि रणनीतिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

महासंघका अध्यक्ष एलपी साँवा लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले चितवन महाधिवेशनमा महासंघका तर्फबाट उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गर्नुभयो । भेलाले महासंघको नेतृत्वको अनुमोदन गरेको उपाध्यक्ष सिएन पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार २२:०२