२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

३ मंसिर, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रबार शिष्टाचार भेट छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ ।

भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगलगायत विषयमा छलफल भएको थियो । भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी थिए ।

त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । मन्त्री लु दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका हुन् ।

भेटमा गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिए । उनले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनर्उत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १७:२८