२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

रोल्पामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

२८ कात्तिक, रोल्पा । रोल्पाको सदरमुकामदेखि पश्चिमा पर्ने माडी गाउँपालिका–२ घर्तीगाउँ बजारनजिक जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । माडी गाउँपालिका–६ हान्निङ कोर्चावाङबाट घर्तीगाउँ बजारतिर जाँदै गर्दा आइतबार बिहान ११ बजेतिर रा१प ३८२ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जीपधनी एवं चालक माडी– ६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्तीमगर, ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका ५५ वर्षीय टेकबहादुर पुन (टंकलाल) छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, जिल्ला अस्पतालमा उपचाररत १८ वर्षीय लिला पुनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएका छन् । सोही वडाका २१ वर्षीया बिना घर्तीमगर र ६१ वर्षीया पन्चना विक घाइते भएको प्रहरी जानकारी दिएको छ । घाइतेहरूको घर्तीगाउँस्थित स्मृति हस्पिटलमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल लिवाङमा उपचार भइरहेको छ । सो जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार १७:१३