नाडेप लघुवित्तको नाफामा ७९.३८ प्रतिशतको गिरावट
२६ कात्तिक, काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको भन्दा ७९ दशमलव ३८ प्रतिशतले थोरै हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले चार करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४ दशमलव ९० प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ७९ दशमलव ७७ प्रतिशतले घटेको छ ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २२ दशमलव १८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ छ भने जगेडा कोष ३२ दशमलव ०८ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको सापटी १४ दशमलव ०८ प्रतिशत घटेको छ भने निक्षेप १४ दशमलव ७५ प्रतिशत र कर्जा पाँच दशमलव २७ प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ आठ पैसाले घटेर नाै रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ । डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने सम्झौताभएपछि गत वर्षको १७ पुस २०७७ देखि नाडेपको सेयर कारोबार रोक्का छ ।
प्रकाशित मिति : November 12, 2021 at 3:02 pm









