१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

झापामा फिल्मी शैलीमा काठ तस्करी, पाँच पक्राउ

१० साउन, झापा । झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर फिल्मी शैलीमा काठ तस्करी गरी भारत लैजाने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक गोकर्ण कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय शंकर कार्की, २६ वर्षीय धमेन्द्र साह, ३३ वर्षीय रमेश सिटौला, ४३ वर्षीय ताला हास्दा र ३९ वर्षीय भुवन दाहाल रहेको प्रहरी नायब निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

“नदीको बहावमा काठ तस्करी हुँदैछ भन्ने गोप्य सूचना पायौँ”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले काठसहित त्यसमा संलग्नहुनेलाई पक्राउ ग¥यौँ ।”

पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला वन कार्यालय झापामा बुझाइएको छ भने बरामद काठलाई सेक्टर वन कार्यालय सुरुङ्गामा राखिएको छ ।

कनकाई नदीमा बर्खाको समयमा बाँसको चाली र ट्युबको मद्दतबाट भारततर्फ काठ तस्करी हुने गरेको छ । नेपालको वनबाट काठ चोरी निकासी हुन थालेपछि निगरानी बढाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार २०:०३