२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

निर्वाचन आयोगले प्रधानमन्त्री, राष्ट्रपति र राजा कसैको कुरा मान्दैनः प्रधानमन्त्री देउवा

२४ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रमा जनता नै मालिक भएको बताएका छन् । ‘जनताभन्दा ठूलो शक्ति कोही छैन । जनता नै हो मालिक । प्रजातन्त्र भनेकै जनता हो । जनतन्त्र पनि भनिन्छ,’ देउवाले गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रममा भने ।

देउवाले प्रजातन्त्रको अर्को पाटो हो निष्पक्ष चुनाव भएको बताए । ‘कसैले पनि धाधली र बदमासी गर्न नसकोस् । निर्वाचन आयोग छ । अत्यन्त स्वतन्त्र हुनुपर्छ । पदाधिकारी कुनै पार्टीले मनोनित गरेर हुँदैन । कसैको भनसुन चल्दैन,’ उनले भने ।

देउवाले निर्वाचन आयोगले प्रधानमन्त्री, राष्ट्रपति र राजा कसैको कुरा नमान्ने उल्लेख गरे । आयोग आफ्नो नीतिअनुसार हिँड्ने उनको भनाइ थियो । ‘वडा वडादेखि निष्पक्ष चुनाव हुन्छ । जो आउँछ सहर्ष स्वीकार गर्नु हाम्रो कर्तव्य हो । निर्वाचनबाट उत्तरदायी सरकार आउँछ । जनताप्रति उत्तरदायी सरकार भएको हुनाले जनताको पक्षमा काम गर्छ । गरेन भने अर्को पार्टी आउँछ ।

त्यसकारण प्रजातन्त्रजस्तो अरु तन्त्र छैन । विशिष्ट छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो,’ उनले भने । प्रजातन्त्रलाई कति जिम्मेवार र उत्तरदायी बनाउने कुरा महत्वपूर्ण भएको उनको भनाइ थियो । ‘पार्टीको विकल्प पार्टी नै हुन्छ । यो सत्य स्वीकार गरौं । जनता मालिक हो देशको । जनतामा जाउ । विश्वास जित्न सबै पार्टी लाग्नुपर्छ । कहिले को सानो को ठूलो पार्टी होला । तर प्रजातन्त्र जनतन्त्र हो,’ उनले भने ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १४:००