२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

यात्रुबाहक बस दुर्घटनालगत्तै आगलागी हुँदा १२ जना घाइते

२४ कात्तिक,काठमाडाैँ । आज बिहान एउटा यात्रुबाहक बस पल्टिएर दुर्घटनालगत्तै आगलागी हुँदा बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ६ मालटोल सडक खण्डमा दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ ।

आज बिहान ना ६ ख ७१०२ नं को बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले सडकबाट तल खसेको बसमा आफै आगो लागेको बताए।

प्रहरी निरीक्षक सुवेदीले बस दुर्घटनाको क्रममा पल्टिँदा तेल ट्याङ्की फुटेर बसमा आगो लागेको हुनसक्ने अनुमान गरिएको बताए । घाइतेको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा सातजना महिला, चार जना पुरुष र एक बालक रहेको प्रनि सुवेदी जानकारी दिए ।

घाइतेमध्ये १० जनाको पुष्पवलपुरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा, दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र बाँकी यात्री सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा लागेको आगो ढल्केबरस्थित दङ्गा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बारुणयन्त्रको मद्दतले नियन्त्रण लिएको थियो । आगोमा परी अधिकांश यात्रुको समान जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १३:२८