२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको आन्दोलन जारी

२३ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेको छ ।

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसन आन्दोलित भएको हो ।

तिहार सकिएलगत्तै सोमबारबाट आन्दोलनलाई निरन्तरता दिएको बारले प्रधानन्यायाधीश जबराकाबारेमा गम्भीर बन्न राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ । कालो पट्टी बाँधेर विरोधमा उत्रिएका बार पदाधिकारी र सदस्यहरूले दैनिक धर्ना दिँदै आएका छन् ।

बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् ।

सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् । आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।

नेपाल बार एसोसिएसनले जबराबारे गम्भीर कदम चाल्न आग्रह गरेको भोलिपल्टै उनले मुद्दा सुनुवाइलाई लयमा फर्काउन खोजेको सन्देश दिएका छन् । तर, जबराको यो कदमविरुद्ध नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूले भने आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार ११:३१