२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रक्सीको मातमा कर्मचारी कुट्ने पर्यटन बोर्डका सिइओ रेग्मीसँग मन्त्रालयको सोधपुछ

२२ कात्तिक, काठमाडाैँ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनन्जय रेग्मीले पाँच बोतल रक्सीका लागि भन्सार विभागका कर्मचारीमाथि हातपात गरेको सार्वजनिक भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सोधपुछका लागि बोलाएको छ । मन्त्रालय स्रोतका अनुसार उनलाई घटनाको बारेमा बुझ्नका लागि भनेर बोलाइएको हो ।

मन्त्री प्रेमबहादुर आले स्वयंले रेग्मीलाई केहीबेरअघि मन्त्रालय बोलाएर कुरा गरेको पुष्टि गरेका छन । उनले घटना गम्भीर भएकाले आफू कडा कारबाही हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले छानविन गरेर कारबाही प्रकिया अघि बढाउने पनि बताए । उनले अहिले मन्त्रिदपरिषद् बैठकमा जानु परेकाले धेरै कुरा गर्न नपाएकाले छलफल गरेर थप कारबाही गर्ने बताएका छन ।  कात्तिक २० गते भाइटीकाको दिन घटना भएको भए पनि सोमबार मात्र सार्वजनिक भएको हो ।

वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर शनिबार स्वादेश फर्किने क्रममा रेग्मीले पाँच बोतल रक्सी भन्सार पास गराउन नपाएको झोँकमा कर्मचारीको गालामा थप्पड हानेका हुन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार रेग्मीले डिउटीमा रहेका कर्मचारी नायव सुब्बा सुमन थापाको गालामा चड्कन हानेका हुन ।

उनीसँग ६ बोतल रक्सी देखेपछि थापाले प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ रेग्मीले गालामा चड्कन हानेर दिएका हुन । त्यसपछि भन्सार कार्यालयले रेग्मीमाथि कारबाही गरेको छ । भन्सारका कर्मचारीले नियन्त्रणमा लिएर चड्कन वापतको ५ हजार जरिवाना गरिएको भन्सार कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले कुटपिट भएको र त्यस उपर पाँच हजार रूपैयाँ जरिवाना गरेको पुष्टि गरेका छन । रेग्मीमाथि मोटो रकम घुस खुवाएर नियुक्ति लिएको आरोप लगेको थियो । यद्यपी यही समयमा पर्यटन बोर्डको आम्दानी घटेका कारण उनले राम्रो आम्दानी गर्न पाएका छैनन् ।

बोर्डका एक जना कर्मचारी गए पुग्ने कार्यक्रममा उनले चाकरीका लागि मन्त्री र सचिवलाइ समेत लगेको बोर्डका कर्मचारीले बताएका छन । मुख्य रूपमा बोर्डले यस्तो मार्टहरूमा निजी क्षेत्रका प्रतिनिधिका लागि सहजिकरण गरिदिने हो । तर बोर्ड मन्त्री नै बोकेर मार्टमा सहभागी हुन पुगेको थियो ।

नोभेम्बर १ देखि ३ सम्म लण्डनमा वर्ल्ड ट्राभल मार्ट भएको थियो । मार्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बोर्डका सिइओ रेग्मी लगायत सहभागी भएको बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १५:१२