२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बुटवलका पहिरो प्रभावित भन्छन्ः राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ

-लक्ष्मण पौडेल

२१ कात्तिक, बुटवल । बुटवल ज्योतीनगरका पहिरो प्रभावितहरूले राहतभन्दा पनि पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गरेका छन् । चुरेबाट खसेको पहिरोले गत १३ र १४ भदौमा ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए । पहिरोले ठूलो क्षति पुर्‍याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अब दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण थाल्न माग गरेका हुन् ।

२० भदौ २०५५ मा सोही क्षेत्रमा गएको पहिरोले ६० घर पुरिएका थिए । त्यसपछि विस्थापित भएका परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो । तर, अब राहत र क्षतिपूर्ति भन्दा पनि तत्काल ठोस योजना बनाएर पहिरो नियन्त्रणको काम थाल्न स्थानीयवासीले तीन तहकै सरकारलाई दवाव दिन थालेका छन् ।

अब संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले पहिरो नियन्त्रणका लागि काम थाल्नुपर्ने चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउँछन् । तारजाली बिछ्याएर मात्र पहिरो नियन्त्रण हुन नसक्ने भएकाले विज्ञहरूको अध्ययनका आधारमा दीर्घकालीन नियन्त्रणको प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

भूकम्प र चुरे क्षेत्रमा खनेको सडकका कारण थप ठूलो पहिरो जान सक्ने भएका कारण बेलैमा सचेतना अपनाउनुपर्ने उनले बताए । पहिरो गएसँगै एक साता घर छाडेका बुटवल–३ ज्योतीनगरका किरण ज्ञवालीले अरुबेला बेवास्ता गर्ने तर पहिरो गएपछि मात्र तदारुकता देखाउने कामले सरकारले पहिरो नियन्त्रण गर्ला भनेर आश लाग्न छाडिसकेको बताए । ‘अब अहिल्यैबाट नै नियन्त्रणको काम भएन भने अर्को वर्ष झन् ठूलो पहिरो जान सक्ने जोखिम कायमै छ, बरु हामीलाई राहत चाहिँदैन, पहिरो नियन्त्रण भए पुग्छ’, उनले भने ।

पहिरोका कारण विस्थापित भई भाडामा बस्न पुगेका स्थानीयलाई बुटवल उपमहानगरपालिकाले भाडा तिरिदिने निर्णय गरेको थियो । तर, उक्त भाडाबापतको रकम पनि स्थानीयले अझैसम्म पाएका छैनन् । राहत स्वरुप जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रतिपरिवार १५ हजार रुपैयाँ दिएको विस्थापित सीता मल्ल बताउँछिन् ।

कतिपयले सो क्षेत्रको बस्ती स्थानान्तरणको मागसमेत गरेका छन् । २०५५ सालमा गएको पहिरोका कारण ५७ घरलाई स्थानान्तरण गरिएको थियो । त्यतिबेला प्रत्येक परिवारलाई बुटवल तामनगरमा १०/१० धुरका दरले सरकारले जग्गा उपलब्ध गराएका थियो । तर, स्थानीयले पहिरो गएको क्षेत्रको जग्गा बिक्री गरे, सरकारले दिएको जग्गामा घर बनाएर बसे ।

‘नयाँ किनेकाहरूले फेरि ज्योतीनगर क्षेत्रमा ठूलाठूला महल बनाए । अहिले उनीहरू छोड्न मान्दैनन्’, चुरे-तिनाउ संरक्षण समितिका संयोजक गौतम भन्छन्, ‘अब बस्ती स्थानान्तरण गर्न सम्भव देखिँदैन, जसरी हुन्छ पहिरो नियन्त्रण नै गर्नुपर्छ ।’

ज्योतीनगर क्षेत्रमा पहिरो गएपछि विज्ञ टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत बुझाइसकेको छ । भूगर्भविद डा. रञ्जन दाहालसहितको टोलीले गरेको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा चुरेमा पानीका मूलहरु प्रयाप्त रहेको, तिनको व्यवस्थापन नभएको र वर्षातमा परेको पानीको समेत व्यवस्थापन नभएकाले पहिरो गएको उल्लेख गरिएको छ । अध्ययन टोलीले पनि परम्परागत तारजालीको प्रयोगले मात्र पहिरो नियन्त्रण नहुने औंल्याएको छ ।

यता, बुटवल उपमहानगरपालिकाले भने पहिरो नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सुरु गरिसकेको बताएको छ । ‘हामीले विज्ञ टोली खटाएर अध्ययन गरिसकेका छौँ, अब प्रदेश सरकारसँग समन्वय गरेर पहिरो नियन्त्रणको खाका बनाउँछौं’, उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने । पहिरो गएको चुरे क्षेत्रमा वनस्पतिहरु रोप्ने, ठूला रुखहरू नम्बरिङ गरी हटाउने र प्राविधिक टोलीको अध्ययनको आधारमा पानीको निकास खोज्ने गरी पहिरो नियन्त्रणका प्रयासहरू गर्ने उपमहानगरको योजना छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १४:४०