२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

भूकम्पपछि जस्तापातामय बन्यो ग्रामीण बस्ती

१८ कात्तिक, लमजुङ । भूकम्पपछि लमजुङमा पुनर्निर्माण भएका अधिकांश घरमा जस्ता पाताको छाना हालिएपछि ग्रामीण भेग रङ्गिन देखिन थालेका छन् । पहिले गाउँमा खरले छाएका देखिने घर अहिले रङ्गिन जस्ताले टल्किन थालेका छन् । झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएको देखिए पनि स्थानीय बासिन्दाको आर्थिक अवस्था भने उस्तै रहेको छ ।

दुधपोखरी गाउँपालिका(२ का वडाध्यक्ष गोविन्द दवाडीले भने पहिले घरको छानो हुने खाने र सम्पन्नले ढुङ्गाको लगाउँथे भने सबैको घरमा खरको छानो हुन्थ्यो । जस्ता पाताको प्रयोग गरेको कहीँ देखिन्थेन । सडक नजिक आउन थालेसँगै हुनेखानेले जस्तापाता लगाएको थिए तर भूकम्पपछि त गाउँ नै जस्तामय भएका छन् ।

प्राविधिकले पनि ढुङ्गा र टायलको छाना हाल्दा घर पास नगर्ने भएकाले अधिकांशको रोजाइ रङ्गिन जस्तापाता बनेको विचौरका रामहरि न्यौपाने बताउँछन् । गह्रौँ छानालाई प्राविधिकले अस्वीकार गरेका कारण र हलुका निर्माण सामग्री प्रयोग गर्दा भूकम्पबाट सुरक्षित हुने प्राविधिक सल्लाह अनुसार भूकम्प प्रभावितले हलुका छानोका रूपमा लमजुङका हजारभन्दा बढी घरमा जस्तापाताको प्रयोग गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदान पाउने लाभग्राहीले बनाएको घर भनेकै रङ्गिन जस्तापाता जस्तो भएको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे बताउँछन् । पाण्डेका अनुसार लमजुङमा भूकम्पपछि पुनर्निर्माण गरिएका घर शतप्रतिशत लाभग्राहीले रङ्गिन जस्तापाताले घर छाएका छन् ।

भूकम्पले बढी क्षति भएको जिल्लाको दुधपोखरी, विचौर र कोल्कीमा बनेका घर रङ्गीबिरङ्गी नै देखिन्छन् । साबिकको विचौर, दुधपोखरी, इलामपोखरी र कोल्कीमा पुनर्निर्माण भएका करिब ४ सय ५० घरमा निला जस्तापाताको छाना हालिएको छ ।

एकैनासका घर अनि एकैनासका छाना पुनर्निर्माणका बेला ध्यान दिएर घर बनाएकाले गाउँ नै नमुना बस्ती झैँ देखिएको दुधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमायाँ गुरुङ बताउँछिन् । भूकम्पपछि गाउँमा सबैले एकैथरि घर बनाएका छन् । अधिकांशका दुई कोठे घर छन् । दुई कोठे अनि एक तले घर उस्तै देखिन्छन् ।

जस्तापाताको छाना लगाउँदा घर हलुका हुने मात्र नभई काठको प्रयोगमा कमी र ज्यालामा बचत हुने गरेको दुधपोखरी गाउँपालिका कोल्कीका स्थानीय धनबहादुर गुरुङले बताए । गाउँमा रङ्गिनमा पनि निलो र रातो जस्तापाताको प्रयोग व्यापक मात्रामा छ ।

हरेक गाउँमा निलो र रातो जस्तापाताको छाना हालेर घर निर्माण गरिएका छन् तर थोरै मात्रामा पहिले प्रयोगमा रहेको सादा जस्ता प्रयोग गर्ने नगण्य छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार २०:१८