१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भरतपुरमा प्रहरी र व्यवसायी एवं मजदुरबिच झडप, दुई प्रहरीसहित केही आन्दोलनकारी घाइते

९ साउन, चितवन । चितवनकाे भरतपुर महानगरपालिकामा प्रहरी र अटाे रिक्सा तथा ट्याम्पो व्यवसायी एवं मजदुरबिच झडप भएको छ ।राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित केही आन्दोलनकारी समेत घाइते भएका छन् ।

झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् । आन्दोलनकारीहरुले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।

 भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो । अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो । तथापि सहमति नभएपछि महानगर र मजदुर एवम् अटो व्यवसायीबीच मंगलवार र बुधबार विहान छलफल भए पनि सहमति भएकाे थिएन ।

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १४:४९