२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सहयोग माग्ने बाढीपहिरो पीडितसँग गृहमन्त्री खाँडले भनेः बाध्यताले सरकारमा गएका हौँ

१६ कात्तिक, इलाम । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँडले आफूहरू बाध्यताले सरकारमा गएको बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि उनीहरको कुरा सुनेपछि इलाम सदरमुकाममा पत्रकारसँग कुरा गर्दै खाँडले दुई तिहाइको सरकार ढलेपछि बाध्यताले कांग्रेसले सरकारको नेतृत्व गरेको खाँडको भनाई छ ।

‘सरकारको नेतृत्व हाम्रो रहर होइन, बाध्यता हो’, खाँडले भने । खाँडले बाढीपहिरोले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि खाँडले भत्किएको संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने बताएका हुन् । वर्षाका कारण सडकको धेरै ठाउँमा पहिरोले क्षति पुगेको छ ।

पहिरोले घरहरूमा समेत क्षति पुर्‍याएकाले चाडै ती संरचना निर्माणमा लाग्नुपर्ने मन्त्री खाँडको भनाई छ । गृहमन्त्री खाँड प्रधानमन्त्री देउवा निरीक्षणमा आएको एक सातापछि बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका हुन् ।

पुनर्निर्माणको योजना बनाएर कार्यान्वयन गर्न आफूहरूले प्रभावित क्षेत्रको निरीक्षण गरेको खाँडले जानकारी दिए । निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेल, सडक विभागका महानिर्देशकलगायतको टोलीले इलाम र पाँचथरको प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १९:२१