आयातित बस्तुमा ५० प्रतिशत बढि लोन प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आयाेः गभर्नर अधिकारी
१५ कात्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आयातित बस्तुमा ५० प्रतिशतभन्दा बढि लोन प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दापनि बढि मात्रामा आयातित बस्तुमा लोन प्रवाह हुँदा सो समस्या देखिएको प्रष्टयाए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव कारण र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कोभिडका कारण रेमिट्यान्स घटनु, लोन प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताए ।
गभर्नर अधिकारीले भने, ‘नेशनल पोलिटिक्सको पनि असर भयो । सरकार चेन्ज भयो । सरकार चेन्ज भएपछि बजेटमा पुनर्विचार भयो । पुनर्विचार गर्ने भएपछि सुरुमै खर्च गर्ने अवस्था भएन । यसको असर पनि तरलतामा पर्यो । तर पछिल्लो दिनमा खर्च भएको अवस्था छ । लोन जानु विजनेशका लागि ठिकै छ ।

तर हामी कहाँ समस्या के भयो भन्दा हाम्रो लोनको रिलेसनसिप सरसर्ती हेर्दा हाम्रो आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढि आयातको वृद्धिमा गाँसिएको देखिन्छ । गएको लोन मध्ये ५० प्रतिशत भन्दा बढि आयातमा खर्च भईरहेको पाउँछौं । यसले पनि बैंकिङ क्षेत्रमा तरलताको अवस्था देखिएको छ ।’
गभर्नर अधिकारीले उत्पादनमूलक क्षेत्रमा लोन प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए । उनले सस्तो ब्याजदरमा लोन दिने कामले पनि बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने अवस्था आएको स्पष्ट पारे ।
प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १७:४३












